काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको रिक्त पदका लागि उम्मेद्वार तय गरेका छन्। एमालेको आइतवार बसेको सचिवालयको बैठकले र कांग्रेसको सोमवार बसेको केन्द्रीय समितिको बैठकले उम्मेद्वारको टुंगो लगाएका हुन्। यस्तै, एकीकृत समाजवादीले पनि शीर्ष नेता तहबाट उम्मेद्वार टुंगो लगाएको हो।
सत्ता गठबन्धनका साझा उम्मेद्वारसँग यो पटक एमाले निर्वाचनको मैदानमा उत्रिने तयारीमा छ। गठबन्धनको भोट क्रस नभएमा यो पटकको राष्ट्रिय सभाको निर्वाचन एमालेका लागि प्रतिस्पर्धा मात्रै देखिन्छ। उम्मेद्वार निर्वाचित गराउने सम्भावना पार्टी विभाजनसँगै निकै असहज छ।
राष्ट्रिय सभाको ४ वर्षे कार्यकाल अन्तर्गत २० जनाको पद खाली हुन लागेको हो। १९ जनाका लागि माघ १२ गते चुनाव हुने तय भएको छ भने १ जना मनोनीत हुनेछन्।
कांग्रेसबाट को-को बने उम्मेद्वार?
कांग्रेसले प्रदेश १ बाट गोपाल बस्नेत, वाग्मतीबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णालीबाट दुर्गा पुन र सुदूरपश्चिमबाट नारायणदत्त मिश्र उम्मेदवार बनाउने निर्णय गरेको छ।
यस्तै, एकीकृत समाजवादीले प्रदेश १ मा जयन्ती राई, वाग्मतीमा गोमा तिमिल्सिना, लुम्बिनीमा राज्यलक्ष्मी गैरे, कर्णालीमा उदय बोहरा र सुदूरपश्चिममा मदनकुमारी शाह (गरिमा) लाई उम्मेद्वार बनाएको छ।
सत्ता गठबन्धनको चुनावी तालमेलअनुसार कांग्रेसले ६ ठाउँमा उम्मेद्वारी दिने छ। सत्ता गठबन्धनको सोमवार बालुवाटारमा बसेको बैठकले एमालेका तर्फबाट रिक्त हुने ८ स्थानहरुमा तालमेल गर्ने सहमति गरेको थियो।
आफ्ना रिक्त स्थानमा यथावत उम्मेद्वार उठाउने सहमति गठबन्धनमा बनेको छ।
चार वर्षे कार्यकाल अन्तर्गत एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४, एक जना मनोनीत सांसदको समयावधि सकिन लागेको हो।
एमालेका यी १९ जना गठबन्धनविरुद्ध चुनावमा
नेकपा एमालेको आइतवार बसेको सचिवालयको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिने १९ जनाको नाममा सहमति गरेको थियो।
प्रदेश १ अन्तर्गत झापाबाट खुलामा देवराज घिमिरे र महिलामा सुमित्रा भण्डारी छन्।
अल्पसंख्यकमा सोनाम गेल्जेन शेर्पा सोलुखम्बुबाट उम्मेद्वार बन्ने तय भएको छ।
प्रदेश २ मा खुलातर्फ धनुषाबाट असर्फी भिनवार यादव महिलामा विना साह रौतहटबाट उम्मेद्वार छन्।
यता वाग्मती प्रदेश अन्तर्गत ललितपुरबाट खुल्लामा गोपाल शाक्य, महिलामा निरकुमारी कुँवर (निरु) सिन्धुलीबाट उम्मेद्वार छन्।
गण्डकीमा खुल्लाबाट पूण्यप्रसाद पौडेल कास्कीबाट उम्मेद्वार बन्दा महिलातर्फ लीला पोखरेल नवलपुरबाट उम्मेद्वार हुनेछिन्।
दलितबाट गोविन्दबहादुर नेपाली बाग्लुङबाट उम्मेद्वार बनेका छन्।
यस्तै लुम्बिनी प्रदेशमा दाङबाट खुल्लामा रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल उम्मेद्वार छन्। दलिततर्फ कृष्णबहादुर सुनार उम्मेद्वार बनेको एमालेले जनाएको छ।
कर्णाली प्रदेश अन्तर्गत सुर्खेतबाट खुल्लामा चुडामणि शर्मा, महिलामा गंगा थापा महत जुम्लाबाट उम्मेद्वार बन्नेछन्। अल्पसंख्यकतर्फ पदमबहादुर माझीलाई दैलेखबाट एमालेले अघि सारेको छ।
सूदुरपश्चिमबाट डोटीबाट खुल्लामा डिल्लीराज भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा कैलालीबाट उम्मेद्वार छन्।
दलितबाट नरेश विक बैतडीबाट उम्मेद्वार हुने एमालेले जनाएको छ।
माओवादीको उम्मेद्वार तय गर्ने अधिकार दाहाललाई
माओवादी केन्द्रले सत्ता गठबन्धनको भागबण्डा अनुसार आफ्नो भागमा परेको ५ उम्मेद्वारको टुंगो लगाउने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ। आइतवारको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो। उम्मेद्वार तय गर्ने अधिकार अध्यक्ष दाहाललाई भएको नेताहरुको भनाई छ।
एक सिट पाएको सत्ता गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चा पनि छलफलमै छ।
निर्वाचनका लागि यस्तो व्यवस्था
राष्ट्रिय सभामा हाल ५९ जना सदस्य छन्। जस अन्तर्गत ०७४ फागुनमा ५६ जनाको निर्वाचन भएको थियो। ३ जना मनोनीत भएका थिए। पहिलो पटकको हकमा कार्यकाल विभाजन गोला प्रणालीबाट भएको थियो। जसमा कार्यकाल २, ४ र ६ वर्ष निर्धारण भएको थियो। २ वर्षे कार्यकाल भएका स्थानमा २०७६ माघमा नै निर्वाचन भइसकेको छ।
सभामा अब निर्वाचित भएर आउनेको कार्यकाल भने ६ वर्षको हुनेछ।
कार्यकाल विभाजनको गोलामा सबै क्लष्टरबाट समान रुपमा प्रतिनिधित्व हुनेगरि तय गरिएको थियो। कुनै एक प्रदेशमा एकै पटक क्लष्टर रिक्तो नहुनेगरि गोलाको विधि राष्ट्रिय सभाले तय गरेको थियो।
निर्वाचनका लागि मतदाताको संख्या निश्चित छ। निर्वाचन आयोगले नामावली प्रकाशन गरिसकेको छ।
राष्ट्रिय सभा निर्वाचनमा सातवटै प्रदेशका कायम रहेका प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनेछन्। राजनीतिक दलहरुको प्रदेश र स्थानीय तहको उपस्थिति अनुसार नै निर्वाचित हुने पक्काजस्तै छ। २०७४ मा भएको पहिलो पटकको निर्वाचनमा एमालेले एक्लै २७ सिट जितेको थियो। उक्त निर्वाचनमा कांग्रेसले १३ र माओवादी केन्द्रले १२ सिट जितेका थिए।
मनोनीत तर्फका दुई जना समेत गरेर एमाले राष्ट्रिय सभामा करिब एकल बहुमतमा थियो। तर, पार्टी विभाजनपछि भने अहिले स्थान जोगाउन एमालेलाई कठिन छ।