काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ।
ओमनमा हुने आइीसिसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले यसअघि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए।
जसअनुसार नेपाली टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको हो। त्रिवि मैदानमा पहिलो दिन १४ खेलाडी सहभागी थिए। पहिलो दिन टोली फिटनेश परीक्षण गर्नुको साथै सामान्य अभ्यास गरेको थियो।
आइतबार राति मात्र होटल पुगेका ६ जना खेलाडीको पिसिआर परीक्षणको रिपोर्ट नआएका कारण होटलमै छन्।
कप्तान सन्दीप लामिछाने भने बिग व्यास लिगको लागि अष्ट्रेलियामा छन्। बाँकी नौ खेलाडीको पनि पिसिआर परीक्षणको तयारीमा रहेको क्यानले जनाएको छ।
खेलाडी वर्गीकरण विवादका कारण क्यान र खेलाडीबिच मतभेद बढेपछि चारजना खेलाडीलाई क्यानले कारवाही गरेको थियो। यस्तै सन्दीपलाई कप्तानी दिएको थियो। आइतवार भने क्यान र कारवाहीमा परेका खेलाडीबिच सहमति भएको थियो। जस अनुसार टिमको कप्तान सन्दीप नै रहने र अन्य कारवाहीमा क्यान लचक हुने बताइएको छ।
प्रशिक्षक दसानयकेले नेपाली क्रिकेटमा अहिले समस्या रहेको कसैसामु नलुकेको भन्दै आउने केही दिनमा नै समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।
‘सबैलाई थाहा छ यहाँ समस्या छ। हामी त्यसको समाधान खोजिरहेका छौं। मलाई आशा छ, भोली या पर्सीसम्म हामीसँग पुरा टिम हुनेछ’ पुबुदुले भने, ‘हामीबिच एकदमै सकारात्मक छलफल भइरहेको छ। कुनै निष्कर्ष बारे कुरा अहिले गर्नु धेरै चाँडो हुनेछ। सबै खेलाडीहरुले क्याम्प जोइन गर्नेमा म कन्फिडेन्ट छु। यो राष्ट्रिय टोली हो।’
बन्द प्रशिक्षणमा परेका खेलाडीमा कप्तान लामिछानेसहित ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख र कमल सिंह ऐरी रहेका छन्।
त्यसैगरी शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन झा, नन्दन यादव, जीतेन्द्रकुमार मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल र हरिशङ्कर साह छन्।