माथितिर नहेर र माथितिर हेर। दुईथरी आवाज गुञ्जिन्छ। पृथ्वीमा खस्दै गरेको चट्टानलाई हेर्न र नहेर्न भएका क्याम्पेनिङले कसरी अमेरिकी समाज सजिलै विभाजित हुनसक्छ भन्ने बुझाउन सघाउँछ यसले। अमेरिकी संस्थापन कहिल्यै हार्न चाहन्न। उसको त्यस्तै अरुचीले बाँकी केही पनि रहन्न। त्यही द्वन्द्वको कथा हो ‘डन्ट लुक अप’ अर्थात् माथितिर नहेर।
पृथ्वीमा सगरमाथाकै आकारको पिण्ड बज्रियो भने के होला? त्यसले ल्याउने कम्पन र क्षति दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमान र नगासाकीमा भएको अणुबम आक्रमणभन्दा कैयौं गुणा क्षतिको आँकलन। एक पीएचडी स्कलर केट डेबियास्की (जेनिफर लोरेन्स) ले खगोलको अनुसन्धान गरिरहँदा फेला पार्छिन् एउटा भयपूर्ण तथ्य – पृथ्वीतिर तीब्र बेगमा झरिरहेको चट्टान। त्यसको रफ्तारलाई आधारमा मानेर ती विद्यार्थी र उनका प्राध्यापक डा रेन्डाल मेन्डी (लियोनार्दो दी क्याप्रियो)ले पृथ्वीमा झर्ने समय निकाल्छन् र ह्वाइट हाउसलाई जानकारी गराउँछन्।
अमेरिकामा महिला राष्ट्रपति हुन्छिन्, प्रेसिडेन्ट अर्लिन् (मेरिल स्ट्रिप), जो भर्खरै निवर्तमान भएका डोनाल्ड ट्रम्पजस्तै देखिन्छिन्। उनका समर्थकहरु पनि ट्रम्पका जस्तै। पुँजीवादले ह्वाइट हाउसलाई यसरी जकडेको हुन्छ कि झर्दै गरेको चट्टानले पृथ्वी तहसनहस हुँदैछ भन्ने चिन्ताभन्दा बढी लोभ हुन्छ – त्यही झर्दै गरेको चट्टानमा रहेका खनिजप्रति। चीन अथवा रुसलाई उछिन्ने अमेरिकी हुटहुटीमा अमेरिकी राष्ट्रपति प्राज्ञिक अनुसन्धानमा जुटेकालाई लत्याएर पैसामुखि हुन्छिन्। वैज्ञानिक शोधका ‘पेयर रिभ्यू’का विषयलाई लत्याएर स्रोतमाथिको कब्जाका लागि अमेरिकी पुँजीवादी दृष्टिकोणले कतिसम्मको अवस्था ल्याउन सक्छ? डन्ट लुकअप त्यसैमा केन्द्रित छ। त्यसमा मिसिन्छ आगामी चुनाव। जितका लागि सफलताका कथाको खोजी। पृथ्वी तहसनहस हुनसक्ने विषयमाथि पुँजीवादी जित निकालेर सत्ता दोहर्याउने प्रेसिडेन्ट अर्लिनको महत्वाकांक्षा।
नेटफ्लिक्समा चर्चा बटुलिरहेको फिल्म ‘डन्ट लुक अप’ अमेरिकी संस्थापन पक्षको हारको कथा हो। साइन्स फिक्सन जनराको फिल्मले पुँजीवादले अन्धो बनाएको अमेरिकी सत्तामाथि कडा व्यङ्ग्य गर्छ। त्यस्तै पपुलिस्ट कल्चरमा रत्तिँदै गएको मिडियामाथि पनि कठोर व्यङ्ग्य गर्छ। पृथ्वी नजिक आइरहेको चट्टानबारे बोल्न चाहने शोधकर्ता र प्राध्यापक मिडियामा ‘विकाउ माल’ बन्दैनन्। र, सत्ताको आलोचना नचाहने मिडिया उनीहरुको मेहनतभन्दा मजाकमै अलमलिन्छन्।
अमेरिकी सोचमाथि हमला गर्नेगरी हलिउडमा कमै फिल्म बन्छ। बने पनि त्यसलाई अस्करमा नजरअन्दाज गरिन्छ। अमेरिकीलाई हिरो बनाउने अमेरिकाको जित उनीहरुको प्राथमिकतामा पर्ने गर्छ। तर, ‘डोन्ट लुक अप’ले अमेरिकी संस्थापनविरुद्ध त्यही शैली अपनाएको छ जुन जेम्स क्यामरुनले बनाएको ‘अवतार’मा थियो। अवतारमा अमेरिकी सेनाको असफलताको कथा छ भने यो फिल्ममा ह्वाइट हाउसको।
जेनिफर लोयरेन्स र लियोनार्दो दी क्याप्रियोको लिड रोल रहेको फिल्मले पुँजीवाद र अमेरिकी प्रशासनको कमजोर अवस्था, चीन र रुससँगको त्रास, मिडियाको कर्पोरेटाइजेसन लगायतको कथा एकैसाथ प्रस्तुत गर्छ। एडम म्याक्की निर्देशित फिल्मले अमेरिकी संस्थापन पक्षको कडा आलोचना गर्छ। निर्देशक म्याक्कीले पृथ्वी तहसनहस हुँदा अर्को ग्रहमा पुर्याइदिन्छन् राष्ट्रपति र उनका नजिकका मानिसहरुहलाई जहाँ पृथ्वीमा भन्दा राम्रो अक्सिजन भेटिन्छ। र, रोचक पाराले जित निकालेका राष्ट्रपति सहितको टिमलाई उनले यसरी पराजित गरिदिन्छन् कि, फिल्म हेर्न मजा आउँछ।