वीरगंज : नयाँ वर्ष २०२२ मनाउन ठोरीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आज घुइँचो लागेको लाग्यो। नेपाल भारतको ठोरी सीमा नाका नखुले पनि ठोरीमा पिकनिकको लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको कमी भएको थिएन।
ठोरीको ठुटेखोला, राइधारा, गणेशमान पार्क, चिता खोला, चिसापानी, रानीबन, रातो पहाडलगायतका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन आउने पर्यटकहरुको बाक्लो उपस्थिति थियो। ठोरी नाका नकुलेको कारण अन्य वर्षको तुलनामा भारतीय पर्यटकहरु भने पातलिएको देखिन्थ्यो।
नेपालको बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुरका विभिन्न स्थानबाट परिवारसहित पर्यटकहरू नयाँ वर्ष मनाउन आएको ठोरीका स्थानीय होटल व्यवसायी दिनेश नेपालले बताए। अन्य जिल्लाबाट बिहानैदेखि पिकनिकको लागि आउने क्रम बाक्लो देखिएको पनि नेपालले बताए।
ठोरीको मनोरम र मनमोहक दृश्य र सफा वातावरण नै पर्यटकहरुलाई मन पर्ने गरेको नेपाल राष्ट्रिय माध्यमिक डकैला बहुअरीबाट विद्यार्थी लिएर पिकनिकको लागि आएका शिक्षक नरेश साहले बताए। ठोरीको सेतो पहाड, सीतगुफा, झुलुङ्गेपुल, रातो पहाड, टिकटक स्टोन पार्क जस्ता हेर्न लायक स्थानहरुले गर्दा पर्यटकहरुको रोजाईमा ठोरी पर्न गएको पनि शिक्षक साहले बताए।
आजबाटै हुस्सु लागेता पनि पिकनिकको लागि आउने पर्यटकहरु उत्साहित वातावरणमा नाचगान सहित पिकनिक खाइरहेका देखिन्थे। ठोरी आउनको लागि बाटोको सुविधा अत्यधिक राम्रो भएकोले पर्यटकहरुको रोजाइमा ठोरी परेको गणेशमान स्मृति पार्कका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका युवा नेता प्रकाश खनालले बताए।
भारतीय सीमा नाकाबाट पर्यटक आउन भारतीय पक्षबाटै रोक लागेपछि अन्य वर्षको तुलनामा ५० प्रतिशत पर्यटकहरुको कमी देखिएता पनि २० हजार भन्दा बढी पर्यटक ठोरी मनोरञ्जनका आगि आएको समेत खनालले बताए।
प्रत्येक वर्षझैँ यस वर्ष पनि ठोरी पिकनिकको लागि आएका पर्यटकहरुको सहजताका लागि निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले सामान्य शुल्क लिई गाडीको पार्किङ र सुरक्षाको प्रबन्ध मिलाएको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए। यस पटक दुई पाङ्ग्रे सवारीलाई कुनै शुल्क नलिएको र तीन पाङ्ग्रे सवारीसाधनलाई एक सय रुपैयाँ र चार पाङ्ग्रेलाई दुई सय रुपैयाँ शुल्क लिइएको पनि अध्यक्ष बस्नेतले जानकारी दिए।
ठोरी भित्रका सबै सवारीसाधनबाट शुल्क उठाउन नसकिएको तर राइधारा परिसरमा भित्रिएका पर्यटकहरुबाट मात्र शुल्क संकलन गरिएको उनले बताए। सवारी साधनबाट २० हजार संकलन भएको समेत अध्यक्ष बस्नेतले जानकारी दिए। अन्यवर्ष भारतको टाढा टाढाबाट पर्यटकहरु ठोरी आउने गरेता पनि यसपटक भने नजिक नजिकका मात्र पर्यटकहरु पिकनिक मनाउन आएका थिए।
यसपटकको नयाँ वर्षमा खासै होहल्ला र हुलदंगा कसैले नगरेको तथा पिकनिकका लागि आएका पर्यटकहरू सौहार्दपूर्ण वातावरणमा मनोरञ्जन गरेका छन्। पर्यटकका लागि शान्ति सुरक्षामा कुनै कमी नभएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव साहले जानकारी दिए।
अन्तिम समयमा पिकनिक खाएर फर्कने समयमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका व्यक्तिलाई उपचारका लागि वीरगंज पठाइएको र मोटरसाइकल नियन्त्रणमा लिएको पनि साहले जानकारी दिए।