काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औँ महाधिवेशन अन्तर्गत आज पाँचौ दिनको बन्दसत्र सकिएको छ। बन्दसत्र आज कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा अपरान्ह १ बजेदेखि ५ बजेसम्म चलेको थियो।
बन्दसत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदनहरु प्रस्तुत गरेको प्रचार तथा प्रकाशन उपसमितिले जानकारी दिएको छ।
त्यस्तै, बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासाको जवाफ दिएका थिए। सो क्रममा प्रचण्डले दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया शुरु गरेको बताए।
उनले दस्तावेजले पार्टीलाई क्रान्तिकारी दिशामा लगेको भन्दै विचार संश्लेषणका लागि महान बहसको थालनी गरेको बताए। तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव उनले राखेका थिए।
प्रचण्डले सुझाव र जिज्ञासामाथि जवाफ दिने क्रममा स्थायी कमिटी सदस्य राम कार्कीको पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको भिन्न मतलाई भिन्न मतकै रुपमा स्वीकारेको जानकारी गराए। त्यसैगरी, २४ वटै समूहगत छलफलबाट आएका महत्वपूर्ण निष्कर्षहरुलाई दस्तावेजमा समेट्ने उनले बन्दसत्रमा जानकारी गराए।
प्रचण्डले प्रतिनिधिबाट प्राप्त सुझाव समावेश गरी दस्तावेज आवश्यक परिमार्जन गर्ने प्रतिबद्धतासहित उक्त दस्तावेज पारित गरिदिन आग्रह गरेका थिए। उनको दस्तावेज बन्दसत्रमा सर्वसम्मतबाट पारित भएको थियो।
बन्दसत्र भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। भोलिको बन्दसत्रमा विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासाको स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने बताइएको छ।