पोखरा: रैथाने संगीत समूहले पोखराको फेवाताल किनारमा सांगीतिक प्रस्तुति दिएका छन्। पाँचौ पामे फिल्म फेस्टिभलमा गायिका झुमा लिम्बुको समूहले सुदुर पूर्वदेखि सुदूरपश्चिमको रैथाने भाका पस्के।
समूहकी गायिका पुष्पा पलाञ्चोकेले नेपाल भाषाका डाफा अन्तर्गतको दुई गीत शाखु जय जगौनी, भैरव खारा गाउँदै कार्यक्रम सुरु गरिन्। उनले चास घय र तनही भजनलाई पोखरा दर्शकबीच प्रस्तुत गरिन्।
गायिका झुमा लिम्बुले घाटु, हाकपारे, हियारी, तामाङ्ग, मैथली र डोट्याली लगायतका लोकसंगीत प्रस्तुत गरिन्। रैथानेका झुमा र पुष्पासँगै शम्भु बानियाँ, अशेष राई, मनीष गन्धर्व, मोआ र तोमसले वाद्यवादनमा सहयोग गरेका थिए। मोआ र तोमसले पनि कार्यक्रममा चिलीका गीत संगीतसँगै नेपाली फ्युजन प्रस्तुत गरे।
आफूले फरक समुदायको मौलिक भाषाको संगीतको जर्गेना, अध्ययन र प्रस्तुति गरिरहेको झुमाले बताइन्।
भन्छिन् ‘नेपालमा जुन जातिले जुन भाषा बोल्छन् त्यो समुदायको भाषा र भाका नमर्नेगरि हामी गाउने कोशिस गछौँ।’
प्रस्तुति सुन्न नेपथ्य गायक अमृत गुरुङ,१९७४ एडी निरकार याकथुम्बा, लेखक सरस्वती प्रतीक्षाको उपस्थिति रहेको थियो।
लोक तथा परम्परागत मौलिक नेपाली संगीतमा काम गर्दै आएको रैथानेको यो पोखरामा पहिलो प्रस्तुति हो। यसअघि पनि काठमाडौंको मोक्षमा पनि प्रस्तुति दिएको थियो।
करिब एक घण्टाको प्रस्तुतिपछि फिल्ममा ‘मौलिक गीत संगीत’ सम्बन्धी अन्तर्किया कार्यक्रम समेत भएको थियो। जसमा झुमा र पुष्पाले नेपाली मौलिक गीत संगीतको फिल्ममा प्रयोग र आवश्यक्ताबारे बताएका थिए।
फिल्म संगीतमा सक्रिय झुमाले ‘दोख’को ‘रातैले बुन्छ आकाशमा रुमाल’ गीतलाई प्रस्तुत गरेकी थिइन्। जसमा पुष्पा संगमको संगीत संयोजन र झुमाको स्वर छ।
गायिका लिम्बुले फिल्मको कथालाई जतिकै मौलिक गीत संगीतलाई पनि महत्त्व दिनुपर्ने बताइन्। ‘कतिपटक फिल्मको छायाङ्कन सकेर सम्पादनको समयमा बल्ल संगीतकारलाई खोज्छन्। तर कथा लेखनमै फिल्मका लेखकले संगीतकारलाई पनि भेट्नुपर्छ। फिल्म गर्न जति गाह्रो छ संगीत गर्न पनि उत्तिकै गाह्रो छ’, उनले भनिन्।
फेस्टिभल शुक्रवार समापन हुँदैछ।