spot_img

spot_img

सन्दर्भ : मेलमिलाप दिवस, के थियो विराटनगरको खोर्सानी काण्ड?

  • अमृत अर्याल-

विराटनगर : राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बीपी कोइराला २०३३ पुस १६ मा नेपाल भित्रनु भयो। बीपीको निधन २०३९ सालमा भयो। हामी अहिले पनि उत्तिकै श्रद्धा, निष्ठा र उत्साहका साथ मेलमिलाप दिवस मनाउँदैछौँ। तर मेलमिलाप दिवसका सन्दर्भको आजभन्दा ३८ वर्षअघि अर्थात् २०४१ पुस १४ गतेको घटना सम्झँदा म अहिले पनि आत्तिन्छु। भयभीत हुन्छु र धेरै बेर टोह्लाउँछु। त्यो घटना, पञ्चायती कालरात्रिको अत्यन्त क्रूर, बर्बर, अमानवीय र पाशविक उदाहरण थियो। तानाशाही निरङ्कुश व्यवस्थाले गर्ने दमन र दिने यातनाको सबैभन्दा तल्लो स्तरको घटना थियो त्यो। त्यस घटनामा मलगायत हामी ४ जनाको मलद्वारमा १ घण्टा निरन्तर खोर्सानी कोचिएको थियो। दुःख लाग्छ, त्यस घटनाका ४ पीडितमध्ये ३ को दुःखद निधन भइसकेको छ। यति बेला ममात्र त्यस घटनाको जिउँदो साक्षी बाँकी छु। प्रजातन्त्रको पुनःस्थापनाका क्रममा मैले धेरै पटक धेरै यातना पाएँ, २०६० सालमा त मलाई प्रहरीले गोली नै हान्यो। भाग्यले गोली लागेन। म मोटर साइकलमा थिएँ र भागेर बाँच्न सफल भएँ। तर खोर्सानी काण्डले मलाई अहिले पनि उद्वेलित बनाइरहन्छ।

त्यस बेला नेपाली कांग्रेस मोरङका सभापति बद्रीनारायण बस्नेत र सचिव अशोक कोइराला हुनुहुन्थ्यो। सभापति बस्नेतले हामीलाई पार्टीका जिल्ला सचिव अशोक दाइका नेतृत्वमा मेलमिलाप दिवसको पोस्टर टाँस्न पठाउनु भयो। म नेविसङ्घ मोरङको सभापति थिएँ।

हामीले विराटनगरको बीच बजार काली मन्दिरको छेउबाट पोस्टर टाँस्न सुरु गर्यौँ। समूहमा हामी ४०–४५ जना थियौँ होला। त्यतिबेला एउटा काममा ४० जना जुट्दा पनि गर्वको विषय हुन्थ्यो। कार्यक्रम पूर्ण सफल भएको अनुभूति हुन्थ्यो। कति पटक त हामीले ८–१० जनाको जुलुस पनि निकालेका छौँ। तर हिजोआजको ५० हजारको भेला र जुलुसभन्दा पनि त्यो ४० जनाको समूह सशक्त र प्रभावकारी थियोजस्तो लाग्छ। आखिर परिवर्तनकारी शक्ति त त्यही थियो।

अत्यन्तै उत्साहले हामीले बजारभरि पोस्टर टाँसिरह्यौँ। यसरी पोस्टर टाँस्तै–टाँस्तै हामी ट्राफिक चोक आइपुग्यौँ। त्यहाँ पोस्टर टाँस्न थालेपछि हामीलाई प्रहरीले घेरा हाल्न थाल्यो। यातना पाउने हामी ४ जना कोही भित्तामा पोस्टर टाँस्तै थियौँ र कोही पोस्टरमा गम लगाउँदै थियौँ। प्रहरीले घेरा हाल्न थालेपछि अरू साथीहरू भाग्नु भएछ। हामी काम गरिरहेका ४ जना भने उम्कन पाएनौँ।

बीपी कोइराला हामीलाई जिउज्यान जोगाएर काम गर्नू, पक्राउ पर्नबाट जोगिनू तर पार्टीको काम नछाड्नू भन्नुहुन्थ्यो। त्यसैले अरू साथीहरू उम्केकोमा हामीलाई खासै आपत्ति थिएन।

सान्दाजु भन्नुहुन्थ्यो, ‘तिमीहरूलाई प्रहरीले पक्राउ गर्‍यो भने जस्तोसुकै यातना दिन पनि सक्छ। मार्न पनि सक्छ। त्यसैले पक्राउबाट भरसक जोगिनू।’

तर हामी ४ जना म, अशोक दाइ, देवेन्द्र शर्मा र बादल दङ्गाल भने जोगिन सकेनौँ। प्रहरीले भ्यानमा राखेर हामीलाई जिल्ला प्रहरी कार्यालय पुर्‍यायो। त्यहाँ हामीलाई चिसो छिँडीमा राखियो। प्रहरीको व्यवहार नराम्रो थिएन। उनीहरू हामीसित राम्रै ढङ्गले कुरा गर्दै थिए। पोस्टरिङ्ग गरेको सामान्य घटना हो, हामीलाई एक छिनमा छाड्छ भन्ने हाम्रो मनमा परेको थियो। अशोक दाइ हाम्रो अभिभावकजस्तै हुनुहुन्थ्यो। बादल र देवेन्द्र घरिघरि अशोक दाइको मुखमा हेर्थे।

‘चिन्ता नगर’, ढाडस दिँदै अशोक दाइ भन्नुहुन्थ्यो, ‘कुनै ठूलो घटनामा हामीलाई पक्राउ गरेको होइन। एक छिनमा छाडिहाल्छ।’

हामी जिल्ला प्रहरीको चिसो छिँडीमै समय बिताइरहेका थियौँ। हामीलाई त्यहाँ राखेको एक घण्टा भइसकेको थियो। यसैबिच एक प्रहरी जवानले बाहिरबाट अशोक कोइराला को हुनुहुन्छ, आउनुपर्‍यो भनेर करायो। अशोक दाइ बाहिर निस्कनुभयो। प्रहरीले उहाँलाई जिल्ला प्रहरी कार्यालय भवनभन्दा करिब २५ मिटर पूर्वमा बनाइएको एक सानो टहरोतिर लग्यो। त्यो प्रहरी जबान सुत्ने ब्यारेक रहेछ।

हामीले सोच्यौँ, उहाँलाई प्रहरीले सामान्य बयान लिन्छ होला र एक छिनमा छाड्छ होला। तर एक घण्टा बित्दा पनि अशोक दाइ आउनु भएन। हामी मुखामुख गरेर चिसो छिँडीमै बसिरह्यौँ।

एक घण्टा बितेपछि एक प्रहरी कर्मचारीले अमृत अर्याल को हुनुहुन्छ भनेर करायो। मैले म आफू भएको बताएँ। उसले मलाई लिएर गयो। म जाँदैगर्दा अशोक दाइ आउँदै हुनुहुन्थ्यो। तर प्रहरीले अशोक दाइलाई अत्यन्तै पीडादायी र यातनामय ढङ्गमा ल्याउँदै थियो। त्यो दृश्य देखेर मेरो आङ जिरिङ्ग भयो। हामीलाई अब प्रहरीले यहीँ मार्छजस्तो लाग्यो।

अशोक दाइको जिउ पूरै नाङ्गो थियो। उहाँका ढाडमा थुप्रै नीलडाम थिए। ती नीलडामबाट छर्छरी रगत बगेको देखिन्थ्यो। उहाँलाई त्यो गिट्टी भरिएको बाटामा दुबै घूँडा र कुइना टेक्न लगाएर जनावरजस्तै हिँडाइँदै थियो। तीखा गिटीले घाउ बनाएर दुबै कुइना रक्ताम्य थिए। यसरी निर्ममताका साथ हिँडाउँदा प्रहरीले उहाँको नाङ्गो ढाडमा उहाँकै एक जोर चप्पल राखिदिएको थियो। एक जना निर्दयी स्वभावको प्रहरी चप्पल झार्लास् भनेर हप्काउँदै थियो। जम्काभेटमा अशोक दाइले टाउको उठाएर मलाई हेर्नुभयो र दाह्रा किट्तै टाउको निहुर्‍याउनु भयो। त्यो निर्दयी प्रहरीले ‘हेर्छस् तेरा बाउलाई’ भनेर हप्कायो। प्रहरीले मलाई टहराभित्र पुर्‍यायो।

‘यो नेतालाई इलाज गर्ने ठाउँ हो’, मनिरै उभिएको डरलाग्दो अनुहारको एक प्रहरी कर्मचारी करायो, ‘लु अब लाज नमानी आफ्नो प्यान्ट र कट्टू खोल्।’

त्यसो गर्न मैले ठाडै इन्कार गरेँ। मलाई लाग्यो, मलाई अब मार्छ। मारिहाल्छ, यसले भनेको किन मान्नुजस्तो लाग्यो। त्यसै पनि युवा अवस्था थियो र विद्रोही स्वभावको थिएँ।

मैले कराउँदै भनेँ, ‘म खोल्दिन।’

दुई प्रहरी कर्मचारी खाटमा उभिएका थिए। उनीहरूले मलाई खाटबाटै बुटैबुटले हिर्काउन थाले। म लडेँ। लड्दा भित्तामा टाउको ठोक्कियो। टाउकाबाट भल्भली रगत बग्न थाल्यो।

प्यान्ट र कट्टु नफुकाल्ने तेरा हात यिनै होइनन् भन्दै दुबै प्रहरीले लडेकै बेला मेरा दुबै हातमा बुटले कुल्चिए। मेरा दुबै हातका १० वटै औँलाका नङबाट रगत बग्न थाल्यो। औँलाका टुप्पाहरू फुटे। म अर्धमुच्र्छितजस्तै भइसकेको थिएँ। प्रहरीले प्यान्ट र कट्टु खोल भनिरह्यो। मैले अत्यन्त कठिनताका प्यान्ट र कट्टु खोल्न सकेँ। ठूलो पीडा सहनुपर्‍यो।

त्यसपछि शुरु भयो अत्यन्त क्रूर र राक्षसी शैलीको खोर्सानी काण्ड। छेउमै एउटा बाल्टीमा रातो झोल राखिएको थियो। पिरो खोर्सानी सिलौटामा पिँधेर झोल बनाएर राखिएको रहेछ। एक हातजति लम्बाइको एक लट्ठीमा अलिकति कपडा बाँधेर गाँठो बनाइएको थियो। प्रहरीले त्यही गाँठो बाल्टीमा डुबाउँथ्यो र मेरो मलद्वारमा कोच्थ्यो। म दाह्रा किटेर सहन्थेँ। आँखाबाट आँसुका धारा रोकिन्नथे। मैले धेरैजसो त लामो स्वरले ‘आ…………….’ आवाज निकाल्दै दाह्रा किटेरै सहेँ। घरिघरि कराउँथे तर धेरै समय दाह्रा किटेरै सहेँ।

मैले त्यही बेला बीपी कोइरालाले दाह्रा किटेर अपरेसनको पीडा सहेको घटना सम्झेँ। बनारसमा उहाँ सानै हुँदा घाउ निस्किएछ र डाक्टरले अपरेसन गर्नुपर्छ भनेछन्। तर त्यस बेला बनारसमा घाउ चिर्ने खालको लोकल एनेस्थेसिया आइपुगेको रहेनछ। डाक्टरले एनेस्थेसियाबिना नै शल्यक्रिया गर्नुपर्ने बताएछन्। बीपी तयार हुनुभएछ। बीपीले त्यो अपसरेसनका बेला आफूले दाह्रा किटेर सहेको कुरा आफ्नो जीवनी ‘आफ्नो कथा’–मा लेख्नु भएको छ। मैले त्यही कुरा सम्झेँ र खोर्सानीको कष्टकर पीडालाई दाह्रा किटेर सहने प्रयास गरेँ।

एक घण्टाको निरन्तर खोर्सानीको यातनापछि प्रहरीले मलाई त्यो टहराबाट निकाल्यो। तर अशोक दाइलाई जस्तो कुइना र घूँडा टेकाएर भने मलाई हिँडाएन।

यसपछि अर्को एउटा सानो कोठामा पुलिसका जबानहरूले २० बाल्टीजति पानी हाले। पानीले कोठा छिप्छिप भयो। मेरा औँला र टाउको बाट रगत आइरहेकै थियो। पुस १४ को राति भइसकेको थियो। जलवायुका कारणले पनि होला, त्यति बेला अहिलेभन्दा जाडो हुन्थ्यो। घरबाट दिउँसै निस्किएका हुनाले हामीले त्यति न्याना लूगा पनि लगाएका थिएनौँ। मेरा घाइते हात र खुट्टा ठिहिर्याइरहेका थिए।

त्यो छिप्छिपे कोठामा प्रहरीले पहिले अशोक दाइलाई हुल्यो। प्रहरीले अभद्र ढङ्गले ठेलेर हुल्दा उहाँ लड्नुभयो। जिउ सबै भिज्यो।

त्यसपछि पुलिसले मलाई तान्यो। मलाई पनि ठेलेरै हुल्यो। म पनि लडेँ र पूरै भिजेँ। तलमाथिका सबै लूगा चिसा थिए। जाडोको महिना। हामी लुग्लुग काम्न थाल्यौँ।

मैले अशोक दाइको मुख हेरेँ। उहाँ केही कठोर बन्नुभयो।

‘प्रजातन्त्रको लडाइँ हो बाबे’, जाडाले काम्दै अशोक दाइ भन्न थाल्नुभयो।

मलाई गाउँघरमा सानैदेखि सबैले बाबे नै भन्छन्। अशोक दाइ पनि बाबे नै भन्नुहुन्थ्यो। उहाँ मलाई तँकै सम्बोधन गर्नुहुन्थ्यो।

‘कष्ट सहनुपर्छ, एक दिन परिवर्तन अवश्य आउँछ’ उहाँले सम्झाउँदै भन्नुभयो, ‘धैर्य गर्नुपर्छ। यति बेला ती हाम्रा मारिएका राम र लक्ष्मणजस्ता वीर शहीदलाई सम्झी। ३ सालमा बीपी काठमाडौंमा थुनिँदा चिसो छिँडीमा २९ दिन अनशन गरेको सम्झी। नडरा, एक दिन अवश्य आउँछ।’

अशोक दाइको यो साहस र वीरतापूर्ण भनाइले म किञ्चित् आश्वस्त भएँ। उहाँको यो भनाइ सम्झेर अहिले पनि म उहाँलाई श्रद्धा गर्छु र उहाँको यो अभिव्यक्तिप्रति गौरवको अनुभूति गर्छु।

मलाई खोर्सानीको यातना दिएर निकालेपछि देवेन्द्रलाई हुलियो। लग्नेबित्तिकै उनलाई त्यही प्रकारको दमन गर्न थालियो। खोर्सानीको यातना सहन नसकेर उनी चिच्याउन थाले। उनको चिच्याहटले सिङ्गै जिल्ला प्रहरी थर्कियो। ‘चिच्याउँछस्’ भन्दै एक प्रहरीले देवेन्द्रलाई ड्याम्म कुटेको आवाज बाहिरैसम्म सुनिन्थ्यो। यसपछि उनको मलद्वारमा लट्ठीले खोर्सानी कोचिन्थ्यो। सहन नसकेर उनी फेरि चिच्याउँथे, कार्यालय परिसर फेरि थर्कन्थ्यो र फेरि कुटाइ खान्थे।

देवेन्द्रलाई पनि एक घण्टासम्म खोर्सानीको यातना दिएपछि उनलाई निकालियो र बादललाई लगियो। उनलाई पनि त्यही शैलीको चरम यातना दिइयो। प्रहरीले मलद्वारमा खोर्सानी कोच्ताकोच्तै त्यही समयमा उनको मानासिक सन्तुलन बिग्रिएछ। तैपनि प्रहरीले एक घण्टासम्म आफ्नो दानवीय कुकृत्य गर्दैरह्यो।

खोर्सानी काण्डपछि प्रहरीले मलाई र अशोक दाइलाई जिल्ला प्रहरीको एक छिप्छिपे कोठामा र देवेन्द्र र बादललाई अर्को कोठामा राखेको थियो। बादललाई यातना दिइसकेको एक घण्टापछि हामी चारै जनालाई प्रहरीले छाडिदियो।

हामी चारै जना एकै साथ निस्कियौँ। बादलको मनस्थिति खुस्किसकेको थियो। उनी खोर्सानी, खोर्सानी, खोर्सानी, खोर्सानी भन्दै एकोहोरो ढङ्गले बर्बराइरहेका थिए। हामीले उनलाई सम्झायौँ। तर झन् ठूलो स्वरमा खोर्सानी, खोर्सानी भनिरहे।

घटनाको केही समयपछि देवेन्द्र बिरामी भए। यातनाले गर्दा उनलाई कडा खालको पाइल्स भयो। भित्रसम्म पिरो पसेकाले केही दिनपछि अल्सर भयो। उपचार गर्दागर्दै निको भएन। अल्सर क्यान्सरमा परिणत भयो र यही कारणले उनको निधन भयो।

बादललाई हामीले उपचारका लागि राँचीसम्म पुर्‍यायौं। केही दिन अलि ठीक भएजस्तो हुन्थे। फेरि उही स्वभावमा आउँथे। उनी पनि यस संसारबाट बिदा भइसकेका छन्।

अशोक दाइको देहावसान गत वर्षमात्र भयो।  

अति नै अमानवीय ढङ्गको यो घटना हुँदा यसका योजनाकार मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुखमा डिएसपी गगनसिंह ठकुरी थिए। केही समयपछि उनले आत्महत्या गरे। अर्का योजनाकार इन्स्पेक्टर कृष्ण बस्नेत थिए। उनी प्रहरीको एआइजीसम्म भए। २०६१ माघ १९ को घटनापछि अशोक दाइ र मलाई प्रहरीले पक्राउ गरेर डिआइजी अफिसमा ३ महिनासम्म थुनेको थियो। त्यस बेला पूर्वका डिआइजी कृष्ण बस्नेत नै थिए। हामीलाई थुनेको एक महिनापछि मुख देखाउन आएका थिए।

बस्नेतको घर नजिकै सुनसरीको इनरुवामा थियो। हामी सबै उनलाई चिन्थ्यौँ। तर यति धेरै क्रूर र दानवीय स्वभावका होलान् भन्ने लागेको थिएन।

खोर्सानी काण्डको समाचारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चा पायो। राष्ट्रिय पञ्चायतको बैठकमा सूर्यबहादुर थापाले घटनाको तीव्र विरोध गरे। अरू राष्ट्रिय पञ्चायत सदस्य पनि बोले। एम्नेस्टी इन्टरनेसनले हामीलाई सम्पर्क गर्‍यो। एम्नेस्टीको बुलेटिनमा त्यस घटनाका बारेमा सविस्तार लेखिएको थियो।

(हालै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित अर्यालसँग पहिलोपोस्टकर्मी अनन्तराज न्यौपानेले गरेको कुराकानीमा आधारित।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...