काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन काठमाडौंमा जारी छ। ११ गते देखि सुरु भएको महाधिवेशन १५ गते सम्मका निर्धारित भएकोमा यो लम्बिने भएको छ।
महाधिवेशनको बन्दसत्रमा प्रस्तुत दस्तावेज माथि छलफल जारी छ। बुधवार ११ वटा समूहले छलफलको निष्कर्ष पेश गरेकोमा बाँकीले आज पेश गर्दै छन्।
दस्तावेज माथि छलफल गर्नका लागि माओवादीले २५ समूह बनाएको थियो। २५ समूहले निष्कर्ष राखिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दस्तावेज माथि उठेका प्रश्नको जवाफ दिने छन्। त्यस्तै विधान माथि आएका सुझावहरुलाई नेता देव गुरुङ र नेता राम कार्कीले पेश गरेको पुरक प्रस्ताव माथि उठेका प्रश्नको जवाफ कार्कीले दिने कार्यक्रम रहेको छ।
त्यसपछि माओवादीले केन्द्रीय कमिटी निर्वाचनको प्रक्रियामा जाने छ।
कसरी बन्ने छ केन्द्रीय कमिटी?
माओवादी केन्द्रले केन्द्रीय कमिटी सर्वसम्मत बनाउने तयारी गरेको छ। ‘केन्द्रीय समिति र पदाधिकारी सर्वसम्मत हुन्छ। सर्वसम्मत जतिको लोकतान्त्रिक अरु कुनै हुनै सक्दैन,’ नेता खगराज भट्टले भने।
त्यस्तै नेता मात्रिका यादवले पनि केन्द्रीय कमिटी महाधिवेशनबाट बन्ने र केन्द्रीय कमिटीले पदाधिकारी टुंगो लगाउने जानकारी दिए।
‘विधान अनुसार महाधिवेशनबाटै केन्द्रीय कमिटी बन्छ। अहिले नै बन्छ,’ उनले भने, ‘केन्द्रीय कमिटीले पदाधिकारी टुंग्याउँछ।’
यसैबिच केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यको नामावली दिन प्रदेशलाई माओवादी केन्द्रले भनेको छ।
केन्द्रीय कमिटी गठनका लागि २० प्रतिशत युवा तथा विधानले व्यवस्था गरे अनुसारको समावेशी बनाउने गरी नाम सिफारिस गर्न प्रदेश कमिटीलाई भनिएको छ। माओवादीका सात भौगोलिक र तीन गैर भौगोलिक प्रदेश कमिटी छन्।
यी कमिटीबाट नाम सिफारिस आएसँगै आजै स्थायी कमिटीले त्यसलाई ‘फाइनल’ गर्नेछ। स्थायी कमिटीको बैठक आज साँझ बस्ने छ। स्थायी कमिटीको बैठकले नाम टुंगो लगाएपछि अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश हुनेछ। हालको केन्द्रीय कमिटीले सदस्यको नाम टुंगो लगाएसँगै प्यानल घोषणा महाधिवेशनको बन्दसत्रबाट हुने नेता देव गुरुङले जानकारी दिए।
उनका अनुसार सहमति भएका पदाधिकारीको पनि घोषणा हुने उनले बताए। हलमा पेश भएको प्रस्ताव माथि दाबी विरोध आए मात्र निर्वाचन गर्ने गरी तयारी भइरहेको नेता गुरुङको भनाइ छ। १७ गते प्रतिनिधिहरुले केन्द्रीय सदस्यको टुंगो लगाएसँगै महाधिवेशन सकिनेछ। पदाधिकारीको छनोट केन्द्रीय कमिटीको बैठकबाट हुनेछ।