पोखरा : गण्डकी प्रदेश सरकारले भोलि ‘तमु ल्होसार’को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गुरुङ समुदायको परम्परागत पात्रो अनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन प्रदेशले सार्वजनिक बिदा दिने मुख्यमन्त्री सचिवालयले जानकारी दिएको हो।
यस्तै, प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ल्होसारका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्यको कामना गरेका छन्।
विविध समुदायले मनाउने पर्वहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने विश्वास मुख्यमन्त्रीले व्यक्त गरेका छन्।
उनले बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य र सहअस्तित्व रहेको बताएका छन्।
जारी सन्देशमा मुख्यमन्त्री पोखरेलले नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता रहेको भन्दै गुरुङ समुदायले परम्परादेखि पुस १५ का दिन मनाउँदै आएको पर्व नेपाली साँस्कृतिक परम्पराका लागि उदाहरणीय रहेको उल्लेख गरेका छन्।
‘यस पर्वले अझै उक्त समुदायको मौलिक परम्परा र साँस्कृतिक महत्वको पक्षलाई उजागर गर्ने छ। सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व र एकताको भावना बढाएर शान्त अनि समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु,’ जारी सन्देशमा उल्लेख छ।
गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमुको दिन आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदानप्रदान गर्ने चलन छ।