विराटनगर : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफूलाई केन्द्रीय समितिले भन्दा पनि कार्यकर्ताले राखेको वरीयतामा विश्वास भएको प्रतिक्रिया दिएका छन्। पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा पराजित भएका डा कोइरालाले सोमवार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसित कार्यकर्ताले राख्ने वरीयतामा विश्वास भएको बताएका हुन्।

‘पार्टीको केन्द्रीय समितिले के गर्‍यो, सभापतिजीले के गर्नुभयो भन्नेतिर म जान चाहन्न’, नेता कोइरालाको भनाइ थियो, ‘मलाई वरीयता दिने भनेको कार्यकर्ताले हो। मलाई कार्यकर्ता साथीहरूले माया गरेर १८ सय ५५ भोट दिनुभएको छ। मेरो तागत यही हो र म यसैमा टेकेर हिँड्छु।’

कांग्रेसले सभापतिमा विजयी हुन नसकेका नेतालाई विभिन्न कालखण्डमा भिन्न–भिन्न वरीयता क्रममा राखेको उनले उल्लेख गरे।

उनले बीपीका पालामा एक प्रकारको, गिरिजाबाबुले अर्को प्रकारको र भर्खरै निर्वाचित सभापति शेरबहादुर देउवाले झन् फरक प्रकारको निर्णय गरेको जानकारी दिए। कोइरालाले यस बारेमा व्याख्या गर्न भने रुचाएनन्।

उनले आफू पार्टीको केन्द्रीय समितिमा पदेन सदस्य भएको स्पष्ट पार्दै आफ्नो भूमिका केन्द्रीय समितिभित्र र बाहिर दुवैतिर सशक्त हुने जानकारी दिए। उनले आफूले राखेका विचार र दिएका सल्लाहलाई पार्टी देउवाले स्वीकार गर्ने विश्वास व्यक्त गरे।

कोइरालाको कथन थियो, ‘मैले भनेका कुराहरू पहिले पनि उहाँले मान्नुभएको हो। अहिले त म एउटा तागत लिएर हिँडिरहेको छु।’

कोइरालाले आफ्नो पहिलो ध्यान भावी ३ तहको निर्वाचनमा हुने स्पष्ट पारे। उनले निर्वाचन आयोगले बैशाखमा स्थानीय निर्वाचन सक्न भनिसकेको स्मरण गराउँदै पार्टीलाई स्थानीयसहित ३ वटै चुनावमा पहिलो बनाउन आफ्नो भूमिका रहने जिकिर गरे।

उनले आफू सभापति पदमा पराजित हुनुमा आफ्नो पनि कमजोरी भएको दोहोर्‍याए। कोइरालाले आफ्नै घरभित्र भाइ बहिनीलाई मिलाउन नसक्नु र आफ्ना बुबा केशवप्रसाद कोइरालालाई वीपीले लेखेको पत्रको मर्म बुझाउन नसक्नु आफ्नो कमजोरी भएको बताए।

उनले गत महाधिवेशनको ‘एक पटक यसै पटक’ भन्ने आफ्नो नारा अहिले पनि रहेको चर्चा गरे।

कोइरालाको कथन थियो, ‘नारा अहिले पनि छ तर आगामी १५औँ महाधिवेशनमा समय, काल, परिस्थिति र कार्यकर्ताको भावनाअनुसार निर्णय हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय