वीरगञ्ज ८ पुस । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथी भएर आउने कार्यक्रममा उपस्थित हुनका लागि गाउँपालिकाका विद्यालय बन्द गरिएको छ ।
जगरनाथपुर गाउँपालिकाको कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा ओली आउने भएपछि गाउँपालिका अध्यक्ष जालिम मियाँको निर्देशनमा शिक्षा शाखाले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्न अनुरोध गरेको पाइएको छ ।
गाउँपालिकामा रहेका २ वटा माद्यामिक विद्यालय, ४ वटा मदर्सा र २४ वटा प्राथमिक विद्यालयका प्रधानाध्यापकहरुलाई बुधवार दिउँसो १२÷१ बजे नै फोन गरी एकाएक विद्यालय बन्द गरी पार्टी प्रवेश कार्यक्रममा सहभागि हुन शिक्षा शाखाका प्रमुख नरेश महतो कोइरीले निर्देशन दिएका थिए ।
३० वटा विद्यालयमा अध्ययनरत करिब ७ हजार बालबालिकाहरु पठन पाठननै प्रभावित गरेर कार्यक्रम गर्नु अनुचित भएको अभिभावकको भनाई छ ।
दिउँसो नै विद्यालय बन्द गर्न आदेश जारी गरेका शिक्षा शाखा प्रमुख कोईरीलाई विद्यालय बन्द गरेर कार्यक्रम गर्ने खबर फैलिएपछि चौतर्फी दबाब आउँदा राती पुनः ८ बजे सबै प्रधानाध्यापकलाई फोन गर्दै विद्यालय बन्द नगर्न आदेश दिएको खुलेको छ ।
एक जना शिक्षकले शाखा प्रमुखले सुरुमा विद्यालय बन्द गर्न आदेश जारी गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सूचना गरीसकेको हुँदा अब चाहेर पनि विद्यालय बन्द फिर्ता गर्न नसकिने बताए । उनले भने, हामीले विद्यालय बन्दको आह्वान गरी सकेका छौ, अब विद्यालय बन्द रोक्न सक्दैनौ, हामी स्कुल गएपनि विद्यालयहरु विदाको हल्लाले स्कुल आउँन सक्दैनन् ।÷
शिक्षा शाखाका प्रमुख कोईरीले आफूले विद्यालय बन्द गराउन आदेश जारी गरेको स्वीकार गरेका छन् । उनले भने, ‘कार्यक्रमस्थल वरपर ४÷५ वटा विद्यालय रहेका कारण उनीहरुको पढाई प्रभावित हुने भएकोले एकदिनको विदा मिनाहा हुने गरी सम्पूर्ण विद्यालय बन्दको आह्वान गरेको थिए । तर चौतर्फी रुपमा विद्यालय बन्दको आलोचना हुन थालेपछि केहि बेर पहिला विद्यालय बन्द नगर्न आदेश गरेका हौँ ।’
गाउँपालिकाका अध्यक्ष जालिम मियाँले विद्यालय बन्द गर्न लगाई विद्यार्थीहरुको पठन पाठन गर्ने मौलिक अधिकार नै हनन गर्न खोजेको स्थानियको आरोप छ ।
ओली आउँने भएपछि पार्टी प्रवेश कार्यक्रमलाई भव्य बनाउँन विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुलाई कार्यक्रममा सहभागि गराउँनको लागि नै गाउँपालिकाको सम्पूर्ण विद्यालय बन्द गर्न मियाँको आदेशमा शिक्षा शाखाको प्रमुखले नै निर्देशन समेत जारी गरेको श्रोतको दावी छ । तर शाखाका प्रमुखले भने, आफूले कसैको प्रभाव वा दबाबमा स्कुल बन्द गर्ने निर्णय नगरेको बताए ।
माओवादी पार्टी परित्याग गर्ने जालिम मियाँ दलबल सहित नेकपा एमालेमा प्रवेश गर्ने भएपछि उनलाई पार्टी प्रवेश गराउँन स्वयं नेकपा एमालेका अध्यक्ष केपी ओली बिहिबार पर्सा जिल्लामा आउँदै छन् ।