काठमाडौँ। नेपाली कांग्रेसमा को सह–महामन्त्रीका लागि भएको निर्वाचनमा आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे विजयी भएका छन्। १४ औँ महाधिवेशन अन्तर्गत भएको चुनावमा उनले २७११ मत ल्याएका हुन।
उनका प्रतिद्वन्द्वी विकाश लामाले १९१३ मत मात्रै पाए।
आङ्देम्बे सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए। लामा भने शेखर कोइराला प्यानलका हुन्। लामालाई आङ्देम्बेले ७९८ मतले पराजित गरे।
यस्तै, दलिततर्फ जीवन परियारले देउवा समूहका मीनबहादुर विश्वकर्मालाई पराजित गरेका छन्। परियारले २२१२ मत ल्याए भने विश्वकर्माले २१७५ मत ल्याए।
त्यसैगरी, कांग्रेसको महिलातर्फको सह–महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छिन। उनले २५३३ मत प्राप्त गरेर विजयी भएकी हुन। डिना शेरबहादुर देउवाको प्यानलबाट १४ औँ महाधिवेशनमा महिलातर्फ सह–महामन्त्रीको उम्मेदवार बनेकी थिइन। उनकी प्रतिद्वन्द्वी कमला पन्तले २१०५ मत मात्रै पाएकी छन्। उनी शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेकी थिइन।
कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको थियो।
बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खसआर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ।
कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।