जनकपुरधाम। प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको अवरोधपछि प्रदेश २ को प्रदेशसभा बैठक ८ पुससम्मका लागि स्थगित भएको छ।
बुधबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारले ल्याएको अध्यादेश पेश गर्न लाग्दा लोसपाले बैठक अवरुद्ध गरेको हो। अवरोधपछि सभामुख सरोज यादवले १५ मिनेटका लागि स्थगित गरेका थिए।
१५ मिनेटपछि पुन: शुरु भएको बैठकमा लोसपाले अवरोध जारी राखेपछि बैठक ८ पुससम्मका लागि स्थगित गरिएको हो।
केही हप्ताअघि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंक मिश्रले प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सम्बन्धित अध्यादेश ल्याएका थिए। सोही विरोधमा लोसपाले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै बैठक अवरोध गरेको थियो।
बैठक स्थगित भएपछि प्रदेश नामकरण तथा राजधानीका विषयमा प्रस्ताव पेश हुने कार्यसूची पनि प्रभावित भएको छ।