वीरगञ्ज २८ मंसिर । अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीयहरूको गिरोह सक्रिय भएको भेटिएको छ । उनीहरूले यहाँका नागरिकलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ व्यवसायमा संलग्न दुई भारतीय तथा एक नेपाली गरी तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका तीन जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।
२८ वर्षीय भारतीय नागरिक जितेश वर्मा, अर्का भारतीय नागरिक ३४ वर्षीय अङ्कित शर्मा र भरतपुर–२६ का ३६ वर्षीय सरोज घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई भरतपुरमा रहेको सिजी ल्याण्डमार्कको फर्न रेसिडेन्सी चितवन होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । होटलमा केही मानिस जम्मा गरेर नेटवर्किङमा लाग्न प्रेरित गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उनीहरूलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।