काठमाडौं। कांग्रेस सभापतिका लागि शेखर कोइरालाले उम्मेदवारी दिने भएका छन्। देउवाइतर समूहबाट साझा उम्मेदवारका लागि प्रयास भए पनि सहमति हुन नसकेपछि उम्मेदवारी नै नदिने निक्यौलमा पुगेका रामचन्द्र पौडेलले शेखरलाई समर्थन गर्ने भएका छन्।
इतर समूहमा प्रकाशमान सिंहलाई मनाएर पौडेललाई सभापतिका लागि अघि सार्ने तयारी गरिए पनि सिंहले नमानेपछि पौडेल सभापतिबाट पछि हटेका हुन्। पौडेलसहित, शशांक कोइराला लगायतका नेताहरूले शेखरलाई समर्थन गर्ने सहमति भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार शेखर प्यानलबाट उपसभापतिका लागि मिनेन्द्र रिजाल र एनपी साउँदलाई अघि सार्न लागिएको छ। रमाइलो त के भने साउँद देउवानिकट पुराना नेता हुन्, उनलाई मनाउने प्रयत्न भइरहेको जानकारी स्रोतले दिएको छ। उक्त समूहमा महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र गगन थापालाई अघि सार्ने तयारी भइरहेको छ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया शुरु भइसकेको छ। यसअघि नेपाली कांग्रेसका नेता कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराइसकेका छन्।