काठमाडौँ। विभिन्न बस्तुका प्रदर्शनी र चिया चौतारीको जमघटस्थल मानिने काठमाडौँको भृकुटीमण्डप नेपाली कांग्रेसमय बनेको छ। मुलुकको दोस्रो ठुलो दल कांग्रेसको १४औँ महाधिवेशन आयोजनास्थल भएकाले भृकुटीमण्डप कांग्रेसममय बनेको हो।
अहिले जो–कोहीको ध्यान खिच्ने स्थल बनेको छ यही स्थल। महाधिवेशन प्रतिनिधि मात्रै होइन, सर्वसाधारणको ध्यान पनि भृकुटीमण्डपको रौनकले खिचेको छ।
आमसर्वसाधारणको विभिन्न भेला, छलफल र चिया गफ तथा भेटघाटको गन्तव्यस्थल बनेको खुला मैदानमा अहिले कांग्रेस महाधिवेशनले खचाखच छ।
प्रदर्शनीमार्ग प्रवेश गर्नासाथ झकिझकाउ तुलब्यानर देखिन्छन्। मूल गेट प्रवेश गरेपछि झनै रौनक देखिन्छ। महाधिवेशन उद्घाटनका लागि बनाइएको आकर्षक मञ्च बनिरहेको छ। शुक्रबार उद्घाटन हुने मूल समारोहको तयारी तीव्र पारिएको छ।
मूल समारोहका लागि स्टेज निमार्णको अन्तिम चरणको काम भइरहेको छ। अहिलेसम्म ९० प्रतिशतको काम पूरा भएको स्वयंसेवक परिचालन कमिटीले जनाएको छ। ‘‘मञ्च बनाउने काम रातभरिमा सक्छौँ, अरू सबै तयारी लगभग पुरा भइसक्यो,’’ कमिटीका एक सदस्यले भने।
भोट माग्न शूरु
महाधिवेशनस्थलममा चहलपहल बढेको छ। ४७ सय प्रतिनिधि सहभागी हुनेछन्। ती मध्ये अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेकाछन्। महाधिवेशन स्थलमा चहलपहल तथा फोटो खिचाउनमा उनीहरू व्यस्त देखिन्छन्।
अधिकांश आफ्ना पक्षका नेताहरूको चुनावी प्रचारमा होमिएका छन्। उनीहरू उम्मेदवारहरूले प्रचार र भोट माग्न थालेका छन्।
पार्टीका सभापति, महामन्त्री, केन्द्रीय सदस्यलगायत विभिन्न पदका आकांक्षी उम्मेदवारका तुल, ब्यानरले झकिझकाउ पारिएको छ। प्रदर्शनीमार्गस्थल प्रवेश गर्नासाथ सडकका दुवैतिरका भित्तामा प्रचार सामग्रीले भरिएका देखिन्छ। रुख, भित्ता कतै खाली देखिँदैन।
त्यस्तै महाधिवेशन स्थलमा नेता तथा कार्यकर्ताहरू समेत आउन थालिसकेका छन्। महाधिवेशन स्थललाई सुरक्षित गर्न सुरक्षाकर्मी समेत तैनाथ गरिएको छ। सिसी क्यामरा जडान गरेर निगरानी समेत भइरहेको छ।