काठमाडौँ। भारतको पहिलो सीडीएस जनरल विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाको घटनाको रक्षामन्त्री राजनाथ सिंहले सदनमा बयान दिएका छन्। बिहीबार संसद्को दुवै सभामा भारतीय रक्षामन्त्री राजनाथ सिंहले जनरल रावत आफ्नो निर्धारित भ्रमणमा रहेको बताए।
उनले भने ‘‘बुधबार ११ः४८ मा एमआई–१७ हेलिकोप्टर उडेको थियो। बुधबार बिहान करिब १२ः०८ बजे एयर ट्राफिक कन्ट्रोलले हेलिकोप्टरले नियन्त्रण गुमाएको बतायो। त्यसपछि दुर्घटना भयो। स्थानीयले यसबारे प्रशासनलाई जानकारी गराएका थिए।’’
लोकसभामा बयान दिँदै रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेनाले सैन्य हेलिकोप्टर दुर्घटनाको त्रिपक्षीय छानबिन गर्न आदेश दिएको बताएका छन्। छानबिनको नेतृत्व एयर मार्सल मानवेन्द्र सिंहले गर्नेछन्। हिजो अनुसन्धान टोली वेलिंगटन पुगेर अनुसन्धान थालेको थियो।
बुधबार भएको दुर्घटनामा सीडीएस जनरल रावत, श्रीमती मधुलिकासहित १२ जनाको मृत्यु भएको थियो। घटनापछि तत्कालै स्थानीय प्रशासनको उद्धार टोली घटनास्थलमा पुगेर उद्धारकार्य शुुरु गरेको थियो।
अवशेषहरूबाट निकालिएका सबै मानिसहरूलाई वेलिंगटनको सैन्य अस्पतालमा लगिएको थियो। दुर्घटनामा १४ जनामध्ये १३ जनाको मृत्यु भएको थियो। राजनाथ सिंहले विपिन रावत, उनकी पत्नी मधुलिका रावत र ११ सेना अधिकारीको निधनमा शोक व्यक्त गरेका छन्। लोकसभा अध्यक्ष ओम बिरलाले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।