जनकपुरधाम। जनकपुरधाममा मनाइने सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज पाचौं दिन मटकोर विधि मनाइँदै छ।
जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगासागरमा पुगेर आज दिउँसो मिथिलाको परम्परा अनुसार राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ।
मटकोरमा प्रसादको रुपमा भिजाइएको चना, चामल र खाने तेल वितरण हेर्न जाने श्रद्धालुलाई वितरण गर्ने गरिन्छ। विवाहको शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा छ।
आज मटकोर सकिएपछि भोली बुधबार भगवान् श्रीराम र जानकीको डोला फेर गरी स्वयंम्बर र विवाह महोत्सव हुने छ।
सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको पहिलो दिन शुक्रबार नगर दर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ र चौथो दिन (सोमबार) तिल्कोत्सव सम्पन्न भइसकेको छ।
आज मटकोर, भोली बुधवार विवाह र विहिवार राम कलेवा मनाएपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए। त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।