जनकपुरधाम। जनकपुरधाममा सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज चौथो दिन तिलकोत्सव विधि धुमधामका साथ मनाइएको छ।
त्रेता युगमा भगवान श्रीराम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइन्छ। त्यस अन्तर्गत आज सोमबार तिलकोत्सव विधि सम्पन्न गरिएको राम मन्दिरका महन्थ राम गिरीले बताए।
राममन्दिरको प्रांगणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट भार (कोसेली) लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव पुगेका थिए।
त्रेता युगमा मिथिलाका राजा जनक र अयोध्याका भगवान् श्री रामका बुवा राजा दशरथबीच भएको सम्धी मिलनको दिनलाई स्मरण गर्दै विवाह पञ्चमीको चौथो दिन तिलकोत्सव मनाइने गरिन्छ।
अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरमा मनाइएको तिलकोत्सवमा जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास बैष्णवले सीताको बुवा र राम मन्दिरका महन्थ राम गिरी भगवान्ले रामको बुवाको भूमिका निर्वाह गरेका थिए।
दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई छोटे महन्थ दासले पाहुना ‘भार’ हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए।
तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास परिहास समेत भएको थियो।
जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाहरुका साथ श्रद्धालु भक्तजनहरु राम मन्दिर प्रांगणमा पुगेर तिलकोत्सव कार्यक्रममा सहभागि भएका थिए। विवाहपञ्चमी अन्तर्गत भोली पाँचौं दिन मंगलबार जानकीको मटकोर विधि हुनेछ ।