जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवको समग्र तयारीमा जुट्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन्। बुधबार प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखहरूसहितको संयुक्त बैठकमा मुख्यमन्त्री राउतले विवाहपञ्चमी महोत्सव प्रदेशको धरोहर रहेकाले यसलाई भव्य बनाउन सबै निकायलाई निर्देशन दिएका हुन्।
मुख्यमन्त्री राउतले महोत्सवलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन्। थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरिदिने प्रतिबद्धता जनाए। विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फबाट मूलनाकाहरूमा प्रवेशद्वारा निर्माण गर्नुका साथै खानेपानीको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरूलाई मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन्।
बैठकमा अर्थ उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण, जनकपुरधाम उपमहानगरका प्रमुख लाल किशोर साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास, प्रमुख सचिव हरिप्रसाद मैनाली, आन्तरिक मन्त्रालयका सचिव राम कुमार महतो, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, जनकपुर उपमहानगरका कार्यकारी अधिकृत प्रधुमन प्रसाद उपाध्याय, नेपाली सेनाका सहायक रथी शिशिर चन्द्र केसी, नेपाल प्रहरीका डिआइजी उमेश रंजितकार, सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगर, अनुसन्धानका निर्देशक ओम प्रकाश जोसी, धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेसहितको सहभागिता थियो।
विवाह पञ्चमी नजिकिँदै गर्दा जनकपुरधाममा आज सरसफाइ
यसैबीच विवाह पञ्चमी महामहोत्सवलाई दृष्टिगत गरी जनकपुरधाममा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। विवाहपञ्चमीको मूल कार्यक्रम हुने जानकी मन्दिर, रंगभूमि मैदानलाई केन्द्रित गरेर बृहत् सरसफाइ गर्ने काम सम्पन्न भएको हो। गत सोमवार जानकी मन्दिर व्यवस्थापनले गरेको बृहत् बैठकले आजको लागि बृहत् सरसफाइ गर्ने निर्णय गरे अनुसार बृहत् सरसफाइ गरिइएको हो।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अगुवाइमा भएको बृहत् सरसफाईमा प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी सहितका विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, सुरक्षा निकायका प्रदेशका प्रमुखहरू, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितका सुरक्षा निकायहरूको सहभागितामा भएको बृहत् सरसफाइ कार्यक्रममा तीनै सुरक्षा निकायका सुरक्षा सुरक्षाकर्मीहरू र जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
जनकपुरधामको बार बिघा रङ्ग भूमि मैदान, जानकी मन्दिर, जनक मन्दिर, राम मन्दिर क्षेत्रमा विशेष सरसफाइ गर्ने काम भएको छ। मङ्सिर १७ गते देखि २३ गतेसम्म हुने सीताराम विवाह पञ्चमी महामहोत्सवमा आउने तीर्थयात्रीहरूलाई कुनै कठिनाइ नहोस् भन्नका लागि सरसफाइ गरिएको हो। सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत १७ गते शुक्रवारदेखि जनकपुर नगर दर्शनबाट महोत्सव सुरु हुन भएको छ।
मुख्यकार्यक्रम विवाह महोत्सव भने मङ्सिर २२ गते बुधवार हुनेछ। सफाइ कार्यक्रमको समापन कार्यक्रममा बोल्दै प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले विश्वका हिन्दुहरूको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिरमा आएर पान पराग, गुट्खा, तमाकू पान खाएर थुक्ने कार्य बन्द गर्नका लागि सर्वसाधारणमा आग्रह गर्दै यसमा कडाइ गर्नका लागि सरोकारवाला निकायको ध्यानाकर्षण समेत गरे। जानकी मन्दिरको सौन्दर्यमा प्रदेश सरकारले करोडौँ रकम खर्च गरेको बताउँदै यसको संरक्षण गर्ने दायित्व आम जनताको भएको बताए।