काठमाडौं । नेपाली महिला क्रिकेट टिमको विश्वकप खेल्ने सपना यो पटक पनि पूरा भएन। आइसिसी महिला ट्वान्टी-२० विश्वकपको एशियाली छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा आज (आइतबार) युनाइटेड अरब इमिरेट्स (युएई) सँग ४८ रनले नेपाल पराजित भयो।
यो हारसँगै सन् २०२३ को विश्वकप खेल्ने नेपालको बाटो बन्द भयो। यूएई भने जितपछि एशियाबाट एक मात्र राष्ट्रको रूपमा ग्लोबल क्वालिफायरका लागि छनोट हुन सफल भयो।
आजको खेलमा ग्लोबल क्वालिफायरमा पुग्न नेपाललाई हराएर मात्र पुग्दैन थ्यो कि कम्तीमा १० रन वा १० बल अगावै जित हात पार्नुपर्ने अवस्था थियो। टस हारेर ब्याटिङ गरेको घरेलु टिम यूएईले २० ओभरमा पाँच विकेट गुमाउँदै १२७ रन जोडेको थियो। जसका लागि छानानी अर्धशतक पूरा गर्दै सर्वाधिक ५२ रन जोडिन्। त्यसैगरी थीर्ताले ४७ रनको योगदान दिइन्।
बलिङतर्फ खासै राम्रो प्रदर्शन नगरेको नेपालका लागि कविता कुँवरले २ विकेट लिइन्। यसपछि १२८ रनको लक्ष्य पछ्याएको नेपालले ब्याटिङमा पनि राम्रो प्रदर्शन गरेन। अन्तिम दुई बल खेल्नुअगावै नेपाल ७९ रनमा अलआउट भयो। नेपालका लागि इन्दु बर्माले १५ रन सीता रानामगरले १३ रन जोड्दा ९ जना खेलाडीले दोहोर रन पनि बनाएनन्।
लगातार पाँचौं जितपछि स्पष्ट १० अंकसहित समूह विजेत बन्दै यूएई छनोट भएको हो। यो समूहमा नेपालको भने पाँच खेलमा दोस्रो हार हो।