काठमाडौं। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्युठानको जिल्ला अधिवेशनमा झडप भएको छ।
जिल्ला सभापतिका लागि भएको मतदानको मतगणना चलिरहेको बेला शेखर कोइराला पक्ष र सभापति शेरबहादुर देउवा पक्षका कार्याकर्ताबीच झडप भएको थियो।
स्वर्गद्वारी क्याम्पसमा भएको मतगणनामा शेखर पक्षका उम्मेदवार विष्णु गिरीले अग्रता लिएपछि देउवा पक्षका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका थिए।
दुई पक्षबीचको झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) खिमलाल भुसालले बताए।
झडपका क्रममा दुई प्रहरीसहित सात जना घाइते भएका छन्। जिल्ला अस्पताल बिजुवारमा उनीहरूको उपचार भइरहेको भूसालले जानकारी दिए। उनका अनुसार अहिले अवस्था सामान्य छ भने बाँकी मतगणना शुरु गर्ने तयारी गरिएको छ।