धनगढी। बैतडीका नेता दामोदर भण्डारीलाई नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश अध्यक्ष बनाउने आश्वासन दिइएको छ। सोमबार ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालयमा भएको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भण्डारीलाई सुदूरपश्चिमको जिम्मेवारी दिने बताएका हुन्।
बैठकमा अन्य नेताहरूले पनि भट्टको उक्त प्रस्तावमा सहमति जनाएको स्रोतले बताएको छ।
१० वर्षदेखि एमालेमा बैतडी जिल्लाको नेतृत्व गरिरहेका भण्डारी दुई पटक प्रतिनिधि सभा सदस्य र संघीय सरकारको अर्थराज्यमन्त्री बनिसकेका छन्।
भण्डारी नवौं महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए। दसौं महाधिवेशनलगत्तै प्रदेश अध्यक्ष बनाउने सहमति भएपछि भण्डारी यसपटक केन्द्रीय सदस्यको उम्मेदवार नहुने जानकारी उक्त स्रोतले दिएको छ।
सुदूरपश्चिमबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने १७ जना सदस्यमध्ये अधिकांश उक्त बैठकमा उपस्थित थिए। तर केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलसहित उनीनिकट झपट रावल र प्रकाशबहादुर शाह भने बैठकमा उपस्थित थिएनन्।
स्रोतका अनुसार उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने केन्द्रीय सदस्यलाई मात्र बोलाइएको थियो।