जनकपुरधाम। नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पार्टीको १४ औँ महाधिवेशनमा प्रदेश भापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाल प्रेस युनियन धनुषाले सोमबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले ४८ वर्षदेखि कांग्रेस पार्टीमा क्रियाशील रहेको र पटक पटक गरेर साढे तीन वर्ष जेल भोगेकाले आफू सभापतिका लागि योग्य भएको बताए।

उनले भने, ‘‘२०२९ सालमा नयाँ शिक्षा पद्धतिको विरुद्धमा भएको आन्दोलनबाट विद्यार्थी राजनीतिबाट यात्रा शुरु गरेको र रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामको स्वतन्त्र विद्यार्थी युनियनका सभापति समेत बनिसकेकाले म सभापतिका लागि योग्य छु।’’

उनले निरन्तर रुपमा पार्टीको धनुषा जिल्ला सचिवका साथै नेपाली कांग्रेस धनुषाका सभापति भएर पनि काम गरिसकेको र २०४९ सालमा जिल्ला विकास समितिको सभापति पदमा समेत कार्य गरिसकेको बताए।

बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि, विमलेन्द्र निधिसँग पनि पार्टीमा कामकाज गरेको बताउँदै उनले प्रदेशमा कांग्रेसको संगठन सुदृढ गर्न आफू सभापतिमा उम्मेदवारी दिन लागेको उनको भनाइ थियो।

कार्यक्रममा उनले १४ औँ महाधिवेशनको सभापतिमा उपसभापति विलेन्द्र निधिलाई साथ दिने बताएका थिए। निधि पार्टीका कुनै पनि नेता भन्दा योग्यता, क्षमता, लगानी तथा बुद्धिका हिसाबले कमजोर नभएकाले आफूहरू उनको साथमा रहेको उनको भनाइ थियो।

प्रदेश सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका यादवले आफू सभापतिमा निर्वाचित भएपछि पार्टी संगठनलाई मजबुत बनाउनुका साथै पार्टीको प्रदेश स्तरीय पार्टी कार्यालय बनाउने घोषणा समेत गरेका छन्।

नेपाली कांग्रेस धनुषाको अहिले रहेको भवनलाई पनि राम्रो बनाएर सोही ठाउँमा भव्य एवं आकर्षक भवनको निर्माण गरेर कार्यकर्ताहरूको भावनालाई कदर गरी १ नम्बर पार्टी बनाउने दाबी उनले गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय