जनकपुरधाम। प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी दुईजना मन्त्रीसहित सहभागी हुने भएको छ। पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याएको छ। नेकपा (एस)ले संसदीय दलका नेता शत्रुधन महतो (धनुषा) र सांसद प्रमोद यादव (सिराहा) लाई मन्त्री बनाउने निर्णय गरेको पार्टीका प्रदेश इन्चार्ज धर्मनाथ साहले जानकारी दिए।
मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन आफ्नै पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई दुई दिनअघि मात्र पदमुक्त गरेका थिए। नेकपा (एस) लाई उद्योग, पर्यटन, वन तथा वातावरणसहित मुख्यमन्त्री राउतले आफ्नो मातहतमा राखेको कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय दिने सरकारको तयारी छ।
नेकपा (एस)ले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी प्रमोद यादवलाई दिन लागेको बताइएको छ।
मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा मामिला र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय आफ्नै मातहतमा राखेका थिए। तत्कालीन राजपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई हटाएपछि राउतले प्रदेशका ६ मन्त्रालयलाई टुक्र्याएर १० मन्त्रालय बनाएका थिए। यसअघिदेखि नै सरकारमा जाने भने पनि मन्त्रालय भागबन्डा नटुङ्गिँदा नेकपा एस सरकारमा सहभागिताको अन्योल बनिरहेको थियो। मंसिर ५ गते आइतबार दिउँसो २ बजे नयाँ मन्त्रीको शपथ ग्रहण समारोह राखिएको प्रदेश सरकार स्रोतले जनाएको छ।