काठमाडौं। सरकारले सातै प्रदेशबाट रेबिजविरुद्धको खोप दिने भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रालयमा आयोजित  पत्रकार सम्मेलनमा काठमाडौंमा मात्रै दिइँदै आएको खोप सेवा विस्तार गर्न लागेको जानकारी दिए।

सरकारले रेबिजविरूद्ध लगाइने इम्युनोग्लोबुलिन एण्टीबडी सातै प्रदेशमा विस्तार गरेको हो। यो खोपले ७ देखि १० दिनमा एन्टिबडी बनाउने मन्त्रालयले बताएको छ।

खोप प्रदेश १ मा कोशी अस्पताल (विराटनगर), प्रदेश २ मा जनकपुर अस्पताल(धनुषा) र नारायणी अस्पताल (वीरगञ्ज), बागमतीमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा) र भरतपुर अस्पताल (चितवन)मा विस्तार गर्न लागिएको जानकारी उनले दिए। यस्तै गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास्की), लुम्बिनीमा लुम्बिनी अस्पताल (बुटवल), कर्णालीमा सुर्खेत अस्पताल (सुर्खेत) र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल (धनगढी)मा पनि खोप लगाइनेछ।

एक वा एक भन्दा बढी घाउ हुने गरि टोकेमा, ठुलो घाउ हुनेगरी टोकेमा, म्युकस मेम्ब्रेन वा छाला फुटेको ठाउँमा रेबिज शंकास्पद जनावरको र्‍याल परेमा वा अनुहार र हातमा टोकेमा बढी जोखिम मानिन्छ र जोखिम कम गर्ने उदेश्यले रेबिजविरुद्धको इम्युनोग्लोबुलिनको खोप दिइन्छ। यो खोप जीवनमा एकपटक मात्रै दिए पुग्ने तर घाउ दुई वा दुईभन्दा बढी ठाउँमा भएमा कहिलेकाही‌ एकभन्दा बढी पटक पनि खोप दिनुपर्ने हुनसक्ने मन्त्रालयले बताएको छ।

विगत सात वर्षको अवधिमा वार्षिक १५ देखि ३६ जनासम्मको मृत्यु रेबिजका कारण भएको तथ्यांक रहेकोमा यो तथ्यांक सन् २०३० सम्ममा शून्यमा झार्ने लक्ष्य सरकारको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय