काठमाडौं। ‘‘यो चिसो किन शुरु हुन्छ होला ? मेरै रोग बल्झाउन वर्षेनी आए जस्तै लाग्छ…।” अघिपछि खासै गाह्रो नभएपनि जाडोयाम लाग्ने बित्तिकै सीओपीडीले निकै दुःख दिने गरेको सुनाउँदै उनले भनिन्।
उनी अर्थात्, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको इमर्जेन्सी वार्डमा पाँच दिनअघि भर्ना भएकी सिन्धुपाल्चोककी ६० वर्षीया पदमकुमारी क्षेत्री। विगत १५ वर्षदेखि श्वासप्रश्वाससम्बन्धी फोक्सोको दीर्घकालीन सीओपीडी रोगसँगै दैनिकी चलाइरहेकी छन् उनी।
‘‘४५ वर्षको थियो, सासै फेर्न पनि निकै गाह्रो र शरीर सुनिने भएपछि अस्पताल जाँच गर्न जादा दम भन्ने थाहा पाएँ। बिस्तारै जाडोयाम लागेपछि वर्षमा एक पटक त अस्पताल भर्ना हुनै पर्छ। त्यसकारण पनि चिसोयाम त दुश्मन जस्तै छ”, आफ्नो पीडा पोख्दै क्षेत्रीले भनिन्, ‘‘अहिले पनि निकै च्यापेर नै अस्पताल आएँ। अझै कति जाडो खप्नै बाँकी छ, के हुने हो चिन्ता लाग्छ।”
रोगको पहिचान १५ वर्षअघि भएपनि उनलाई स्वाँ-स्वाँ हुने समस्या ३०/३५ वर्षकै उमेरदेखि देखिएको हो। सानै उमेरदेखि निकै चुरोट, बिँडी खाने भएकाले यस्तो समस्या देखिएको चिकित्सकहरुले बताएको उनले भनिन्।
सीओपीडी रोग लागेका व्यक्तिहरुलाई पनि परिवारले उत्तिकै ख्याल राख्नुपर्ने पदम कुमारीका छोरा तिलक बहादुर क्षेत्रीले बताए।
तीलक भन्छन् ‘‘आमालाई धेरै पहिलेदेखि नै दम रैछ। तर त्यति चासो नदिँदा धेरै गाह्रो भएपछि मात्र अस्पताल लैजाँदा दम निकै बढिसकेको डाक्टरले भने। दम बढिसकेकाले अस्पतालले इन्हेलर दिएको थियो। तर आमाले बानी पर्छ भन्दै इन्हेलर लिनै मान्नु भएन। औषधिहरु पनि त्यति नियमित नखाएका कारण रोग अझ्ै बढ्दै गयो।”
दम भएकालाई अन्य संक्रमणहरुले पनि छिट्टै छुने भएका कारण पदमकुमारी बढी नै बिरामी परिरहने तिलकले बताए। खासगरी जाडो मौसममा अझ बढी सास्ती भोग्नुपरेको र जाडोयाममा कयौँपटक अस्पतालमा राख्नुपरेको उनले सुनाए।
‘‘जाडो शुरु भयो। आमाले एक दुई दिन आगो पनि ताप्नु भएको थियो। बिस्तारै आमाको शरीर सुन्निँदै जाने, सास फेर्न गाह्रो हुने समस्या बढेपछि अहिले अस्पताल ल्याएका छौँ”, तिलकले भने, ‘‘डाक्टरले फोक्सोमा पानी जमेकोे र दम पनि बढेकाले केही दिन अस्पतालमै राख्नुपर्छ भनेका छन्।”
नेपालमा सीओपीडीको अवस्था
पदमकुमारी जस्तै नेपालको कुल १२ प्रतिशत जनसंख्या सीओपीडीका बिरामीहरु रहेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले केही समयअघि गरेको एक अनुसन्धानमा नेपालको कुल जनसंख्यामध्ये ११ दशमलव ७ प्रतिशत सीओपीडी रोगको बिरामी रहेको पाइएको छ।
त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने सबैभन्दा बढी बिरामीहरु पनि सीओपीडीकै रहेका छाती रोग विशेषज्ञ डा. निरज बमले बताए। उनका अनुसार खासगरी जाडो मौसममा यो रोगका बिरामीहरु धेरै देखिने गर्छन्।
विश्व स्वास्थ्य सगंठनका अनुसार विश्वभर विभिन्न रोग लागेर मृत्यु हुने कारण मध्ये तेस्रो कारणमा सीओपीडी रहेको छ। २०१९ मा ३२ लाखभन्दा बढीको सीओपीडीका कारण मृत्यु भएको विश्व स्वास्थ्य सगंठनले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
जततउकस्ररधधध।धजय।ष्लतरलभधक(चययmराबअत( भभतकरमभतबष्रिअजचयलष्अ(यदकतचगअतष्खभ(उगmियलबचथ(मष्कभबकभ(
पछिल्लो दशकयता नेपालमा पनि अत्यधिक वातावरण प्रदूषण र धुम्रपान गर्नेको संख्या वृद्धि भइरहेकोले पनि सीओपीडीका बिरामीहरु बढ्दै गइरहेका डा.बमले बताए। उनका अनुसार यसले आर्थिक, सामाजिक सँगसँगै अस्पतालको बोझ पनि बढाउँदै लगेको छ।
गतवर्ष त्रिवि शिक्षण अस्पतालमा एक हप्तामा तीन पटक ओपीडी सेवा सञ्चालन हुँदा दैनिक १५० जना बिरामी मात्र सीओपीडी सेवा लिन आउने गरेको उनले बताए। ‘‘अब चिसो शुरु हुँदै छ। सीओपीडीका बिरामीहरु पनि अस्पताल आउनेक्रम बढिरहेको छ”, डा.बमले भने।
कस्तो रोग हो सोओपीडी ?
डा. बमका अनुसार सीओपीडी एक प्रकारको दीर्घ रोग हो। यसले मुख्यगरी फोक्सो र श्वासप्रश्वासको नलीहरुमा असर पुर्याउँछ।
श्वासनलीमा लामो समयसम्म धूम्रपान, वातावरण प्रदूषण, धुवाँधुलोको असर परिरह्यो भने स्थायीरुपमा नलीहरु साँघुरो हुँदै जाने र श्वास फेर्नै गाह्रो भएपछि फोक्सोमा बिस्तारै असर पर्ने र सीओपीडी हुने डा.बमले बताए।
डा.बमका अनुसार लामो समयदेखि धूम्रपान गर्ने तथा प्रदूषणयुक्त तथा औद्योगिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुमा खोकी लाग्ने, थोरै हिँड्दा पनि स्वाँ-स्वाँ हुने, चिसो मौसममा श्वास फेर्न समस्या उत्पन्न हुने वा कुनै कारणबस यस्ता लक्षण देखिनुलाई सीओपीडी दम भनिन्छ।
तीन हप्ताभन्दा बढी खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, श्वास फेर्न गाह्रो हुने, छाती घ्यार-घ्यार गर्ने तथा कमजोरी र थकान जस्ता समस्या सीओपीडीको लक्षणहरु हुन्। डा. बमका अनुसार समयमै उपचार गरिएन भने सीओपीडीले शरीरमा विभिन्न अङ्गहरुलाई पनि असर पार्नसक्छ।
चिसोयाम सीओपीडी बिरामीको लागि किन दुश्मन ?
चिसो मौसममा हावा सुख्खा र चिसो हुने भएकाले छाती र श्वासप्रस्वास सम्बन्धी रोगहरु बढी देखिने छाती रोग विशेषज्ञ डा.अशेष ढुंगानाले बताए।
‘‘चिसो मौसममा वातावरणमा फैलिरहेको प्रदूषण जमिनको सतह नजिकै हुने र अर्कोतिर हावाको प्रवाह पनि निकै कम हुने भएकाले प्रदूषण बढी हुने गर्छ”, डा. ढुंगानाले भने, ‘‘यसरी प्रदूषित वातावरणमा सामान्य व्यक्तिले श्वास फेर्दा त गाह्रो बनाउँछ भने दम जस्ता रोग लागेका व्यक्तिहरुलाई त निकै समस्यामा पार्ने गर्छ।”
काठमाडौं पनि प्रदूषित शहरहरुमध्ये एक भएको भन्दै डा. ढुंगानाले यहाँ बस्ने धेरै व्यक्तिहरुमा श्वासप्रश्वास सम्बन्धी रोगहरु बढी देखिएको बताए। उनी भन्छन्, ‘‘यसको प्रकोप निकै बढ्दै गइरहेको छ। शहरमा प्रदूषित हावा र धुम्रपानले बढी भएको छ भने गाउँतिर घरभित्रै आगो बाल्ने, खेतीपातीमा काम गर्ने व्यक्तिहरुमा यो समस्या बढी देखिएको छ।”
चिसोमा कस्ताे सावधानी अपनाउने?
डा. ढुंगानाका अनुसार सीओपीडी दम भएका व्यक्तिहरुले चिसोमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। त्यस्तै, धुलोधुवाँबाट पनि बच्नु पर्ने हुन्छ। स्वस्थ्य खानपान र व्यायमहरु पनि गर्नु पर्ने हुन्छ।
अहिले दमको सुई पाउने भएकाले वर्षेनी यो खोप लगाउँदा पनि केही हदसम्म यसबाट उत्पन्न हुने जटिल समस्याहरुबाट बच्न सकिने उनी बताउँछन्। डा. ढुंगानाले भने, ‘‘औषधिहरु पनि नियमित खानुपर्छ। औषधिहरु खाने र छोड्ने गर्दा पनि अझै समस्या बढ्दै जान्छ।”
सरकारले नसर्ने रोग अन्तर्गत मुटुको धमनीसम्बन्धी समस्या, मधुमेह, सीओपीडी र क्यान्सरलाई प्रमुख प्रथामिकतामा राखेको र यसलाई रोकथाम तथा नियन्त्रण गर्न पेन प्याकेज कार्यक्रम गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
‘‘यी चारवटा नसर्ने रोग रोकथाम र नियन्त्रणका लागि सरकारले सातै प्रदेशमा विभिन्न कार्यक्रम गर्नुका साथै पेन प्याकेज पनि यो वर्षसम्म सबै जिल्लाहरुमा लागू गर्दैछ”, महाशाखाका वरिष्ठ कन्सल्टेन्ट डा. फणिन्द्रप्रसाद बरालले भने, ‘‘हरेक जिल्लाका हेल्थ पोष्टमा सीओपीडी दमका लागि भनेर दुई प्रकारकोे औषधि निशुल्क वितरण गर्नुका साथै सीओपीडी दम जाँच गर्ने पिक्फोलो मिटर राखिएको छ।”