काठमाडौं। नेकपा एमालेले दशौँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गर्ने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताए। र्‍याली ७ मंसिरमा हुनेछ ।

महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनको बुधबारको पत्रकार सम्मेलनमा भट्टराईले विशेष गरी काठमाडौं-चितवन, बुटवल-चितवन र वीरगञ्ज-चितवनलक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको जानकारी दिए।

उनका अनुसार १० मंसिर मध्यान्ह १२ बजे नारायणगढ जाऔँ भन्ने आह्वान गर्न र्‍याली आयोजना गर्न लागिएको हो । बागमती, लुम्बिनी र प्रदेश २ का प्रादेशिक पार्टी र जनसंगठनको तहबाट र्‍यालीको संयोजन हुने बताइएको छ।

७ देखि ९ मंसिरसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक जिल्ला एक स्वागतद्वार निर्माणमा जोड दिइएको भट्टराईले बताए। मुख्यगरी पूर्व-पश्चिम/उत्तर-दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिका, मुख्य बजारमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ ।

एमालेले महाधिवेशनमा कुनै पनि भित्तेलेखन तथा पोष्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गर्ने संयोजक भट्टराईले बताए। प्रचार समितिले मैथिली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अङ्ग्रेजीलगायतका भाषामा प्रचार ब्यानर र भिडियो क्लिप निर्माण गरिरहेको उनको भनाइ छ ।

एमालेले महाधिवेशनमा कम्तीमा ३० भिडियो तथा अडियो क्लिप र वृत्तचित्र बनाएर प्रचार गर्ने तयारी गरेको छ । एमालेले महाधिवेशनलाई लक्षित गरेर प्रचारप्रसारका लागि सञ्चारमाध्यमका साथै फेसबुक, टिकटक र ट्विटरलगायतका सामाजिक सञ्चालको प्रयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

संयोजक भट्टराईले दर्जनौँ देशका राजनीतिक दलका प्रतिनिधिलाई महाधिवेशनमा निमन्त्रणा गरिएको बताए। उनले भने, “एशियाका कतिपय देशका राजनीतिक दलका प्रतिनिधिले आउने निश्चित गरिसकेका छन्। नेपालस्थित विदेशी नियोगका प्रतिनिधिलाई पनि महाधिवेशनमा निमन्त्रणा गरिसकिएको छ ।”

भट्टराईले देशका ९५ प्रतिशत जिल्लाका विभिन्न संगठनमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत भइसकेकाले यसपटकको महाधिवेशनमा सर्वसम्मत नै पार्टी नेतृत्व चयन गरिने दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय