सप्तरी। सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ सप्तरीमा आयोजित कार्यक्रममा नगद पाँच हजार नगद राशिसहित ‘आजको वातावरण’ दैनिकका सम्पादक÷प्रकाशकसमेत रहेका झालाई सम्मानपत्र प्रदान गरिएको छ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहित पूर्वअध्यक्ष शिव हरिप्रसाद भट्टराई, विष्णु मण्डल, व्यासशङ्कर उपाध्याय र धीरेन्द्रप्रसाद साहले संयुक्तरूपमा पुरस्कार राशि तथा सम्मानपत्र प्रदान गरे।
स्मृति कोषका संस्थापक एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष शिव हरिप्रसाद भट्टराईद्वारा स्व पिता मुक्तिनाथ भट्टराई र माता लक्ष्मी भट्टराईको स्मृतिमा तीन वर्षअघि पुरस्कार स्थापना गरिएको हो। राजविराजमा ०७५ पुस २६ गते एक कार्यक्रममा भट्टराईले स्व बुवाआमाको स्मृतिमा पाँच हजार राशिको पुरस्कारको घोषणा गरेका थिए।
दुई वर्षअघि यो पुरस्कार नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष व्यासशङ्कर उपाध्यायलाई प्रदान गरिएको थियो।