काठमाडौँ। पछिल्लो २४ घण्टामा तीन सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एन्टिजेन र पीसीआर गरी नौ हजार एक सय ४९ जनाको नमूना परीक्षण गर्दा चार दशमलव १२ प्रतिशत अर्थात् तीन सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय ७० जना निको भएका छन्। योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या सात लाख ९८ हजार सात सय १४ जना पुगेको छ। थप चार जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन्। कोरोनाका कारण अहिलेसम्म ११ हजार चार सय ८२ जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिले नेपालमा सात हजार चार सय ७६ जना सक्रिय संक्रमित रहेकामा दुई सय १९ जनाको आईसीयू र ५९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ। यसैबीच पछिल्लो २४ घण्टामा ७९ हजार पाँच सय ६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।