वीरगञ्ज, ३० कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव पर्सा, बारा लगायत तराई मधेशका क्षेत्रमा देखिएको छैन ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहान सञ्चालन हुने विद्यालयहरु चलेपनि विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै दिउँसो सञ्चालन हुने शैक्षिक संस्था भने लगभग बन्द नै छन् ।
फाँटफुट रुपमा पर्साबाट चल्ने लामो दुरीका सवारीसाधन रोकिनु बाहेक अन्य सबै कुराहरु भन्ने खुल्ला छन् । बजारमा पनि बन्दको प्रभाव परेको देखिदैन । लामो दुरीका सवारी नचलेपनि छोटो दुरीका सवारी भने वीरगञ्जमा सञ्चालित छन् । बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । पाण्डेका अनुसार चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।