सल्यान। सल्यानको बिसौनामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। क्षमताभन्दा बढी यात्रु हालेका कारण उकालो चढ्न नसक्दा जिप सडकमै पल्टिएको हो। सल्यानको छत्रेश्वरी गाउँपालिका ६ लान्तीबाट रानागाउँ जाँदै गरेको रा १ ज ५२८ नम्बरको जिप सोमबार बेलुकी बिसौना भन्ने ठाउँ नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा त्रिवेणी गाउँपालिका २ का सुकलाल थापा, रेवती थापा, कमला बुढाथोकी, धनसिंह चलाउने, दली खड्का, मदन महतरा, छत्रेस्वरी गाउँपालिका ६ का पार्वती शाही घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यस्तै विजयनाथ योगी, धनबहादुर राना, उपेन्द्र शाही, दीपक भारती र सरिता घर्ती घाइते भएका छन्।
घाइते भएका सबैको श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताए।