जनकपुरधाम। प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ। आयोगको कार्यालय बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश प्रमुख मिश्रलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएका हुन्।

आर्थिक वर्ष २०७७–०७८ मा गरेका क्रियाकलापहरू तथा वार्षिक गतिविधिहरू समेटी प्रकाशित भएको ३१ औँ वार्षिक प्रतिवेदन, नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख मिश्र समक्ष पेस गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले बुझाएको प्रतिवेदनमा आर्थिक वर्ष २०७७–०७८ मा कुल २ हजार ५९७ वटा प्रारम्भिक उजुरीहरू दर्ता भएको जनाएको छ।

ती उजुरीहरूमध्ये १ हजार ४०१ वटा फर्छ्यौट भएको र यसमा ९ वटा स्टिङ्ग अपरेसन भई १ करोड २९ लाख ९५ हजार ५९५ रुपैयाँ बरामद भएको जनाएको छ। २०७३ साउन १ गतेदेखि संञ्चालन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले १५ जना प्रतिवादी उपर मुद्दा दायर भएको र १ हजार १९६ वटा बाँकी उजुरीहरू आगामी आर्थिक वर्षमा जिम्मेवारी सरेको उल्लेख गरेको छ।
त्यसै गरी कार्यालय प्रमुख सापकोटाले अख्तियार बर्दिबासमा चालु आर्थिक वर्षमा १ हजार ५२१ वटा उजुरीहरू रहेको बताए। उनले गत वर्षको १ हजार १९६ र चालु आर्थिक वर्षको असोजसम्ममा ३२५ वटा उजुरी रहेको बताए। सो मध्ये १५६ वटा उजुरी फर्छ्यौट भइसके उनले जनाए।
प्रमुख सापकोटाले चालु आर्थिक वर्षमा रहेको उजुरीमा सबैभन्दा बढी स्थानीय तह विरुद्धको उजुरी रहेको बताए। स्थानीय तह विरुद्ध ९५२ वटा उजुरी परेका छन्। त्यस्तै संघ तर्फ ४९१ र प्रदेश विरुद्ध ७५ वटा उजुरीहरू परेका छन्।

प्रदेशतर्फ सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित छ। प्रदेश नीति तथा योजना आयोग, प्रदेश लेखा नियन्त्रकको कार्यालय, प्रदेश प्रमुखको कार्यालय र महान्यायाधिवक्ता कार्यालय विरुद्ध कुनै उजुरी नपरेको सापकोटाले जानकारी दिए।
अख्तियारको कार्यालय बर्दिबासको कार्यक्षेत्र धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, सिराहा, रामेछाप, सङ्खुवासभा, खोटाङ र ओखलढुङ्गा गरी कुल ९ वटा जिल्लाहरूमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय