कैलाली। कैलालीमै पहिलो पटक खेती गरिएको ‘रेड बनाना’ उत्पादन हुन थालेको छ। गत वर्ष जेठमा धनगढी उपमहानगरपालिका-९, बंगराका दिनेश चौधरीले रेड बनाना खेती शुरु गरेका थिए। व्यवसायिक खेती गर्ने उदेश्यले लगाएको ‘रेड बनाना’ ११ महीनामा पसाउन थालेको हो।
चौधरीले आफूले सञ्चालन गर्दै आएको एकल थारु होमस्टेको पूर्वपट्टी करिब डेढ कठ्ठा र होमस्टेको बार छेउछाउ गरेर १३० बोट रातो केरा लगाएका थिए। ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको चौधरीले कैलालीमै पहिलो पटक खेती शुरु गरेका हुन्। क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको बोट र फल दुवै रातो हुन्छ ।
अन्य केराकै समयअनुसार फल्ने र त्यस्तै हुने यसको बोट भने निकै आकर्षक देखिन्छ । दक्षिण भारतमा बढी मात्रामा पाइने रातो केराको खेती प्रदेशको अन्य जिल्लामा समेत गरिएको छ। ‘‘पहिलोपटक परीक्षणका रुपमा लगाएको थिएँ’’, चौधरीले भने, ‘‘बाहिरबाट ल्याएर टिस्यू कल्चर प्रविधिबाट उत्पादन गरेको थिएँ। अहिले सफल भएको महशुस गरेको छु।”
सामान्य केरा जस्तै बोट भएपनि ‘जी नाइन’ र ‘विलियम हाइब्रेड’को तुलनामा दुई महिना ढिलो फल दिने रातो केराको फल रातो र ठूलो हुन्छ । कृषि विज्ञका अनुसार रातो केरा स्थानीय जातका केरा जस्तै हुने भएपनि यसमा भिटामिन र मिनरलको मात्रा बढी हुन्छ भने सुगरको मात्रा एकदम कम हुन्छ।
चिनीको मात्रा अत्यन्त कम हुने हुनाले मुटुसम्बन्धी रोगीका लागि निकै लाभदायी हुने रातो केरामा सोडियम तथा कोलेस्ट्रोल हुँदैन। यस्तै, कृषि विज्ञहरुका अनुसार म्याग्नेसियम तथा प्रोटिन पर्याप्त मात्रामा पाइन्छ।