वीरगञ्ज, २८ कार्तिक । जिल्ला मालपोत कार्यालय कलैया बारामा कार्यरत नायब सुब्बा कौशल किशोर झाको सरुवा भएको १० महिना बितिसक्दा पनि रवाना पत्र बुझेका छैनन् ।
विगत १४ वर्षदेखि एउटै कार्यालयको एउटै फाँटमा रजाई गरीरहेका नासु झा को यसअघि पनि ४ पटक सरुवा भएको थियो । तर चारैपटक झाले सरुवा रद्द गरेर कलैया कार्यालयमै काम गरीरहेका छन् । अहिले १० महिना अघि उनको सरुवा म्याग्दी जिल्ला भएको छ । तर हालसम्म पनि उनले रवाना पत्र बुझेका छैनन् ।
१४ वर्ष सम्म एउटै कार्यालयमा काम गर्नु र ४ पटक भएको सरुवा पनि रद्द गराउनुको पछाडी के रहस्य छ भनेर खुलीसकेको छैन । तर गोप्य स्रोतका अनुसार झासँगै कार्यालय प्रमुख र भूमि सुधार मन्त्रालयका महानिर्देशकसमेतको मिलेमतोमा बन क्षेत्रभित्रको करोडौ मूल्य बराबरको जग्गा हड्पने दाउमा लागेको खुलेको छ । उक्त जग्गाको काम नसकिँदा सम्म उनको सरुवा नगर्ने र आफैले उनलाई त्यहीँ राखेको मन्त्रालयका महानिर्देशकले आफुलाई बताएको एक सेवाग्राहीले नाम नबताउने शर्तमा बताए । नासु झा ले बिना कमिसन काम नगरिदिने सेवाग्राहीको आरोप छ । सेवाग्राहीसँगै कमिसन र विभिन्न किर्ते काम गरेर करोडौको सम्पती आर्जन गरेको स्रोतले जनाएको छ । उनले आर्जन गरेको सम्पतीको स्रोत अनुसन्धान गर्नुपर्ने पनि कतिपयले माग गरेका छन् । तर यता मालपोत कार्यालय कलैयाका प्रमुख गोपाल प्रसाद बरालले कोही मन नपराउनेहरु नासु झाको विरुद्धमा लागेको बताए । सरुवा भएपनि उनको ठाउँमा अरु कर्मचारी नपठाउँदा आफुले झालाई यहीँ राख्न बाध्य भएको कार्यालय प्रमुख बरालको भनाई छ ।
नासु झा सँग यस विषयमा बुझ्न खोज्दा फोन सम्पर्कमा आउन खोजेनन् ।