काठमाडौं। ढाका कपडा र यसबाट बनेका वस्तुहरूको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरूको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी २, ३ र ४ पुसमा काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा प्रर्दशनी र सम्मेलन सम्पन्न हुँदैछ।

विगतमा महासंघको पहलमा ढाका उद्यमी व्यवसायीहरूको छाता संस्थाको रुपमा नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समितिलाई व्यवस्थित ढंगले अगाडि बढाउन केही कठिनाई परेको विगतको अनुभवको आधारमा सो संघलाई पुर्नगठन समेत गर्नेगरी २ पुसमा देशभरका ढाका उद्योगी तथ व्यवसायीहरूको राजधानीमा भेला आयोजना गरिन लागेको हो। यस्तै २ र ३ गते दोस्रो ढाका वस्तु प्रदर्शनी पनि आयोजना गर्ने गरी तयारी भइरहेको संघले जनाएको छ।

परापूर्वकालदेखि चलि आएको परम्परागत उद्योग व्यवसायहरू मध्ये नेपालको एक मौलिक उत्पादन ढाका कपडा थोरै पूंजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित रहेको छ। ढाका उद्योग व्यवसाय जुनकुनै स्थानमा पनि सजिलैसंग सञ्चालन गर्न सकिने भएकाले देशको सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म ग्रामिण, अर्धशहरी तथा शहरी क्षेत्रमा घरायसी एवं व्यवसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन र प्रयोग हुँदै आएको छ।

स्वरोजगारको माध्यम बनेको ढाकाको उत्पादन अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड लगायतका देशमा निकासी हुँदै आएको छ। यसले वैदेशिक व्यापार घाटा न्यूनिकरणमा पनि मद्दत गरेको महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले बताए।

ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा पछिल्लो समय उत्पादनमा विविधिकरणको थालनी समेत गरिएको महासंघले जनाएको  छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय