काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रमेशप्रसाद भट्टराईले पुस्तक देखाउँदै भने, ‘डोमेस्टिक ट्राभलमा यति शक्तिशाली पुस्तक मैले पढेको छैन ।’
कुरा राजेन्द्रमान डङ्गोलकृत ‘पैतालमा हिउँ आँखामा हिमाल’ नामको नियात्रा सङ्ग्रहको हो । प्राडा भट्टराई शनिबार उक्त सङ्ग्रह सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथि थिए ।
प्राडा भट्टराईका दृष्टिमा नेपालको पर्यटन र यात्रा साहित्यमा यो विश्वस्तरीय कृति हो । उनले उक्त कृतिलाई ‘पर्यटन र साहित्यको उत्कृष्ट अन्तक्र्रिया’ का रूपमा प्रस्तुत गरे ।
उनका अनुसार ‘पैतालमा हिँउ आँखामा हिमाल’ मा सौन्दर्य सृष्टिको भरपूर चेतना छ जसले पाठकलाई अन्त्यसम्मै एकोहोरो बनाएर तानिरहन्छ । उनका विचारमा उत्कृष्ट साहित्य नै यही हो । यो पुस्तकमा पाठकले दृष्टि, स्वाद, गन्ध र स्पर्स चारै गुण अनुभव गर्छन् ।
प्राडा भट्टराईका अनुसार उनले ‘पैतालमा हिँउ आँखामा हिमाल’ निकै मिहिन ढङ्गले पढे । उनलाई लाग्यो कि राजेन्द्रमानले लेखकीय सार्थकताको सिद्धि प्राप्त गरेका छन्, उनी उत्कृष्ट सर्जक हुन् । उनले पुस्तकमा पर्यटन भेटे; प्रकृति, समाज, संस्कृति, स्थानविवरण, साहस सबै भेटे । सौन्दर्यशास्त्र भेटे ।
त्यसैले प्राडा भट्टराईले निष्कर्ष सुनाए– पाठकीय अभिप्रेरणा यो पुस्तकको शक्तिशाली पक्ष हो ।
त्रिभुवन विश्वविद्यालयका अर्का प्राध्यापक तथा समीक्षक राम लोहनीले समीक्षात्मक टिप्पणीमा ‘यात्रा साहित्यको शानदार र उत्कृष्ट सङ्ग्रह’ भनेर प्रशंसा गरे । उनका अनुसार लेखनशैली काव्यात्मक छ, अभिव्यक्ति कला सशक्त र सुन्दर छ, लेखनमा शरीर र मनले गर्ने अनुभूतिहरू व्यक्त छन् ।
लेखकमा भरपूर राजनीतिक चेतना छ । अभिव्यक्तिमा व्यङ्ग्यचेत र हास्यचेत छ । प्रस्तुतिमा कथ्य, किम्बदन्ती र ऐतिहासिक तथ्यहरू छन् । वर्णनमा समाज छ, संस्कृति र प्रकृति छ । अधिकांश वाक्यहरू उद्धरणलायक छन् ।
प्रा. लोहनीको निष्कर्षअनुसार ‘पैतालमा हिँउ आँखामा हिमाल’ पदयायात्रामा जानेहरूका लागि हाते पुस्तक हो, ट्रेकिङ व्यवसायीहरूका लागि व्यावसायिक मार्गदर्शन हो, साहित्यकार र साहित्यका पाठकहरूका लागि उत्कृष्ट कृति हो ।
प्रा. लोहनीका विचारमा अभिव्यक्तिमा यति सशक्त भईकन पनि कृतिमा केही कमीकमजोरी छन् । केही ठाउँमा ऐतिहासिक तथ्यमा गल्ती भएको छ, बदलिँदो सामाजिक दृष्टिमा केही अनुपयुक्त वाक्यहरू परेका छन् र केही ठाउँमा अतिरञ्जना पनि छ ।
अर्को कृतिमा यस्ता कमीकमजोरीहरू सुधार हुने प्रा. लोहनीको अपेक्षा छ ।
अर्का लेखक तथा समीक्षक श्रीओम श्रेष्ठ रोदनका विचारमा ‘अलेखकहरू सौखिन लेखक’ बन्ने लहर चलेका बेला राजेन्द्रमानको ‘पैतालामा हिउँ र आँखामा हिमाल’ ले उत्कृष्ट ठानिएका केही नियात्रा सङ्ग्रहरूलाई धेरै पछाडि पारिदिएको छ ।
रोदनले लेखनलाई काव्यले रङ्गाएको र अनुभूतिले सजाएको उत्कृष्ट कृति दिएको भन्दै राजेन्द्रमानको अभिव्यक्तिकलाको मुक्त कण्ठले प्रशंसा गरे ।
उनले आफ्नो निष्कर्ष सुनाए– पुस्तकमा समाजशास्त्रीय दृष्टि छ, भाषाशैली अत्यन्त सरल छ, शोध–अनुसन्धानका लागि उपयोगी छ । यो सङ्ग्रह पढेर नेपाली पाठकमात्रै होइन, राजेन्द्रमानसँग यात्रामा जोडिएर आएका विदेशहरू पनि धन्य हुनेछन् ।
प्रसिद्ध नियात्राकार दामोदर पुडासैनी किशोरका विचारमा यात्रा लेख्नु जीवन लेख्नु हो, राजेन्द्रमानले जीवन लेखेका छन् । कमजोर नियात्रा साहित्यको बाढीमा ‘पैतालमा हिउँ आँखामा हिमाल’ विशिष्ट शैलीको कृति हो ।
उनले प्रा. लोहनीलाई जावफ दिने शैलीमा लेखको शीर्षक लेखकले नै रोज्नुपर्ने, समालोचकको पछि लाग्न नहुने र कसैको आदेश पालना गर्न आवश्यक नहुने बताए ।
यसअघि प्रा. लोहनीले केही शीर्षक नियात्रा अनुकूल नभएको भन्ने टिप्पणी गरेका थिए । किशोरले ओशो र उनका एक शिष्यका बीच भएको संवादको एउटा प्रसङ्ग प्रस्तुत गर्दै आफ्नो तर्क पुष्टि गर्ने प्रयास गरे । उनी विश्वविद्यालयका प्राध्यापकहरूप्रति पनि असन्तुष्ट देखिए ।
प्राडा भट्टराई पनि शीर्षकबारे किशोरसँग सहमत देखिए । उनले कक्षाकोठाको सैद्धान्तिक पक्ष र लेखकले विस्तार गर्दै लगेको परिधिबारे प्रष्ट पार्दै किशोरको असन्तुष्टि सम्बोधन गर्ने प्रयास गरे ।
प्राध्यापक तथा साहित्यकार गार्गी शर्माले राजेन्द्रमानको लेखनकलाको प्रशंसा गर्दै आफूलाई मन परेका केही विशेषणहरू उद्धृत गरिन् ।
दीपक महतका विचारमा ‘पैतालामा हिउँ आँखामा हिमाल’ अङ्ग्रेजी भाषामा अनुवाद गरेर विश्वभर फैलाउनु पर्छ ।
अर्का वक्ता विक्रम पाँणेले कृतिले राजेन्द्रमानको मान बढाएको बताउँदै भविष्यमा उनको जन्मघर र जन्मस्थान साहित्यिक पर्यटनको थलो हुने विश्वास प्रकट गरे ।
कृतिमा ११ वटा मूल शीर्षकअन्तर्गत स्वतन्त्र शीर्षकसहित ३१ वटा यात्रा निबन्ध समेटिएका छन् । कृति भन्डै चार सय पृष्ठको छ ।