जनकपुरधाम। जनकपुरमा हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले विज्ञप्ति जारी गर्दै शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश गरेका हुन्।
जनकपुर उपमहानगरपालिका–२० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो। शनिबार हिन्दु समुदायले मोटरसाइकल र्याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ। स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
पूर्वमा जलाद नदीको बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेध गरिएको छ।
प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘‘केही उच्छ्श्रृखल व्यक्ति तथा समूहहरूले उपमहानगरपालिका २० देवपुरा रुपैठा भन्ने ठाउँमा साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै तपसिलका चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन, २०२५ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति २०७५-०७-२७ गते दिउँसो २ः०० बजे देखि २०७५-०७-२८ गते राती १०ः०० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको छ।’’