काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ।
शुक्रबार बिहान १० बजेदेखि निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै ती विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका हुन्।
विद्यार्थी संगठनका नेताहरुले आम जनता र विद्यार्थीलाई चुल्होसमेत बाल्न नदिने गरी एलपी ग्याँसलगायतका पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गर्दै निगमका भ्रष्ट कर्मचारी र सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।
सत्तारुढ माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), एकीकृत समाजवादी निकट अनेरास्ववियूसहितका विद्यार्थी संगठनका नेताले निगमका भ्रष्ट कर्मचारीहरुलाई सामाजिक रुपमा बहिष्कार गर्न आह्वान समेत गरेका छन्।
संयुक्त विद्यार्थी संगठनहरुले जनतालाई आहत हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई पनि दबाब दिइरहेको बताएका छन्।
पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि सरकारविरुद्धको आन्दोलनलाई चर्काएको छ।
३० कात्तिकमा निगमलाई प्राप्त हुने सूचीमा मूल्य बढेर आउन सक्ने भन्दै २५ कात्तिक रातिदेखि नै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। पछिल्लो समय १२ कात्तिकमा मूल्यवृद्धि गरेको निगमले बुधबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि विभिन्न कारण देखाउँदै मूल्य नघटाउने निगमले एक वर्षमा मात्रै १६ पटक मूल्य बढाएको छ।