बेइजिङ। गत सोमबार शुरु भएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) १९ औँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक बिहीबार सम्पन्न भएको छ। वर्षको एकपटक बस्ने सीपीसीको पूर्ण बैठकले चीन तथा विश्वलाई दूरगामी असर पार्ने महत्वपूर्ण निर्णय गर्ने गरेको छ।

१९ औँ सीपीसीको छैटौँ पूर्ण बैठकले पारित गरेका निर्णय प्रतिवेदनलाई सिन्ह्वा समाचार समितिले प्रकाशन गरेको छ। बैठकले पारित गरेको निर्णय चिनियाँ समाजमा केन्द्रीत छ, तर ती निर्णयले विश्वको ध्यान आकर्षित गरेका छन्।

सामान्यतः सीपीसीको छैटौँ पूर्ण बैठकले चिनियाँ समाजको नैतिक धरातल सुधारमा छलफल गर्दै सांस्कृतिक पुन:संरचनाका कार्यक्रम तयार गर्दछ। बिहीबार सम्पन्न बैठकले पनि चिनियाँ समाजलाई समाजवादी बाटोमा अगाडि बढाउनका लागि केही मार्ग निर्देशन गर्ने नीतिहरू पारित गरेको छ।

यसपटकको छैटौँ पूर्ण बैठकमा पूर्ण सदस्य १९७ र बैकल्पिक सदस्य १५१ जना सहभागी थिए। बैठकमा केन्द्रीय अनुशासन आयोगका नेता तथा सदस्यहरू र अन्य विभिन्न विभागका सदस्यहरू पनि सहभागी थिए। उनीहरूलाई मतदानको अधिकार रहँदैन। यसैगरी विभिन्न क्षेत्रका विद्वान प्राध्यापकहरू लगायतका विज्ञलाई पनि बैठकमा आमन्त्रण गरिएको थियो।

१९औँ सीपीसीको केन्द्रीय समितिमा २०४ जना पूर्ण र १७२ जना वैकल्पिक सदस्य रहेका छन्।

बैठकलाई सीपीसीका महासचिव सी चिनफिङले महत्वपूर्ण सम्बोधन गरेका छन्। सम्बोधनपछि उनले सीपीसी पोलेटब्युरोले पारित गरेका निर्णयहरूलाई छलफलका लागि बैठकमा पेश गरेका थिए। जसमा सीपीसी स्थापनाको एक सय वर्षमा प्राप्त महत्वपूर्ण उपलब्धि तथा ऐतिहासिक अनुभवको दस्ताबेज मुख्य थियो।

बैठकले बाहिरी वातावरण जटिल हुँदै गएको भन्दै गत वर्षदेखि नै विश्वव्यापी महामारीका रुपमा विकास भएको कोरोनाका कारणले शताब्दीमै नदेखिएको दुःख देखिएको किटान गरेको छ। अत्यन्त जटिल र प्रतिकूल अवस्थामा पनि चीनले कोरोना महामारीलाई नियन्त्रण गरेको र चीनभित्र आर्थिक तथा सामाजिक विकासलाई कायम राख्न सकिएको औँल्याइएको छ।

सीपीसीले चिनियाँ चरित्रको समाजवादी व्यवस्थामा सी विचारलाई अँगाल्ने निर्णय पहिले नै गरिसकेको छ। सीपीसीको मार्गनिर्देशक सिद्धान्तमा मार्क्सवाद लेनिनवादसँगै माओ विचारधार, तङ स्याओफिङको सिद्धान्त, च्याङ चमिनले अगाडि सारेको तीन प्रतिनिधि सिद्धान्त र हु चिनथाओले अगाडि सारेको विकासमा वैज्ञानिकको ढाँचा रहेका छन्। सन् २०१७ मा सीपीसीको १९ औँ महाधिवेशले नयाँ युगमा चिनियाँ चरित्रको समाजवादमा सी चिनफिङ विचारलाई स्वीकार गरिसकेको छ।

कोभिड महामारीले चीनको आन्तरिक तथा अन्तर्राष्ट्रिय सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको असरको समीक्षा गर्दै चीनले विकास र सुरक्षामा उत्तिकै जोड दिएको कुरालाई बैठकले लिपिवद्ध गरेको छ। स्थिरता नयाँ विकासदर्शनलाई पूर्ण अवलम्बन गर्ने र विकासको नयाँ प्यार्टनको गतिलाई अँगाल्ने पनि उल्लेख गरेको छ। चिनियाँ अर्थतन्त्रको विकासले वैज्ञानिक तथा प्राविधिक विकाससँगै चीनले सुधार र खुलापनलाई थप दरिलो बनाउँदै लाने कुरालाई जोड दिएको छ।

चीनले गरिबी विरुद्धको युद्धमा पूर्ण विजय प्राप्त गरेको, सामाजिक स्थिरता कायम राखेको, सशस्त्र फौजमा आधुनिक तीब्र प्रगति गर्दै राष्ट्रिय सुरक्षामा फड्को मारेको, चीनले मुख्य राष्ट्रसँगको कूटनीतिलाई हरेक मोर्चामा विकसित तुल्याएको कुरा बैठकले निर्णय गरेको छ।

शताब्दीमा सीपीसीले प्राप्त गरेको सबै ऐतिहासिक उपलब्धिका अनुभवबाट नयाँ समाजवादी राष्ट्र निर्माणमा नयाँ यात्राको थालनी गर्ने भन्दै नयाँ युगमा चिनियाँ चरित्रको समाजवादलाई उकास्दै र विकास गर्दै जाने कुरामा जोड दिइएको छ।

राजनीतिक सच्चापनलाई सशक्त बनाउँदै सीपीसीको नेतृत्वलाई सबैले पछ्याउने निर्णय पनि गरिएको छ। सी महासचिव भएपछि सीपीसीका उच्च नेताहरू भ्रष्टाचारको कारवाहीमा परिसकेका छन्। चिनियाँ समाज सुधार गर्दै सीपीसीलाई जनताका निम्ति सच्चा पार्टी बनाउनका लागि सी चिनफिङ निर्ममतापूर्वक अघि बढेका छन्।

चिनियाँ चरित्रको समाजमा आत्मविश्वासको मार्ग, सिद्धान्त, प्रणाली र संस्कृतिलाई बढाउने निर्णय गर्दै सीपीसीमा सी चिनफिङको नेतृत्व विकासलाई बढाउँदै लाने निर्णय गरिएको छ। सीपीसीको वर्तमान नेतृत्वलाई सी चिनफिङ केन्द्रीत नेतृत्व भन्ने गरिएको छ।

सीपीसीका सबै सदस्यहरूलाई इतिहास हेर्न र आफ्ना अग्रजले कसरी सङ्घर्ष गरेको थिए र त्यसले देशलाई के दियो भनेर सिक्न बैठकले निर्देशन दिएको छ। विगतको अनुभव र उपलब्धिको संरक्षण गर्दै आउने दिनमा चीनको विकासलाई निर्न्तर अगाडि बढाउन सबै सदस्यलाई आह्वान गरिएको छ। यसले चीनको भविष्य अझै चम्किलो बनाउने नयाँ युगमा चिनियाँ चरित्रको समाजवाद अझै सार्थक हुने बैठकले किटान गरेको छ।

सीपीसीले नयाँ प्रजातन्त्रिक क्रान्तिका लागि विस्तारवाद, फाँसीवाद, नोकरशाही पूँजीवादका विरुद्ध लड्दै राष्ट्रिय स्वतन्त्रता र जनताको मुक्ति खोज्ने र चीनको राष्ट्रिय पुनर्जागरणका लागि आभारभूत सामाजिक अवस्था निर्माण गर्ने पनि बैठकले निर्णय गरेको छ।

बैठकले चिनियाँ समाजलाई अनुशासित ढङ्गले स्थिरतापूर्ण र सद्भावपूर्ण रुपमा विकास गर्नका लागि केही मान्यता अगाडि सारेको छ। जसमा समाजवादी क्रान्ति तथा निर्माणका लागि नयाँ जनवादबाट समाजवादमा परिवर्तन गर्ने, समाजवादी क्रान्ति बोक्ने, समाजवादी संरचनाको प्रवर्द्धन गर्ने र राष्ट्रिय पुन: जागरणका लागि आधारभूत राजनीतिक अवस्था तथा आधारभूत संस्थागत आवश्यक रहेको बैठकले औँल्याएको छ।

सीपीसीको नेतृत्वमा चिनियाँ जनताले कठिन मिहिनेत गरेर अहिलेको अवस्थामा चीनलाई उभ्याएको कुरा पनि बैठकले पारित गरेको प्रतिवेदनमा उल्लेख छ। अहिले आएर चीन आत्म निर्भर बनेको, सामाजिक क्रान्ति र निर्माणमा विशाल उपलब्धि प्राप्त गरेको छ। विशाल जनसंख्या भएको गरिब र पछि परेको चीनलाई आज समृद्ध मुलुकमा परिवर्तन गर्नका लागि सीपीसीको नेतृत्व सफल भएको र समाजवादी यात्रामा अगाडि बढेको पनि प्रतिवेदनमा उल्लेख छ।

चीनले कृषि, उद्योग, प्रविधि, उत्पादन, शिक्षा, विज्ञान, स्वास्थ्य, शिक्षा, खेलकूद आदि क्षेत्रमा व्यापक सुधार गरिसकेको छ। विगतमा चीनले खेप्दै आएको अत्याचार अपमानलाई चिनियाँ जनमुक्ति सेनाको विकासले चिरेर अन्त्य गरेको पनि उल्लेख गरिएको छ। सन् १९४९ मा सीपीसीले सत्ता लिनुभन्दा अगाडिसम्म चीनमा विदेशी हस्तक्षेप व्यापक थियो। चिनियाँहरूले विदेशी हस्तक्षेप र अपमानको घुट्को पिएर देश बचाएको कुरालाई वर्तमानमा राष्ट्रभक्तिको रुपमा लिने गरेका छन्। प्रतिवेदनमा जोड दिँदै लेखिएको छ ‘चिनियाँ जनताले पुराना कुरालाई चकनाचुर मात्र पार्दैनन् नयाँ सिर्जना पनि गर्छन् र त्यो समाजवादी चीनमा मात्र संभव छ।’

सामाजिक र आर्थिक मुद्दासँगै सीपीसीको सम्पन्न उक्त बैठकले वातावरणका मामिलामा पनि गहन विश्लेषण गरेर चीनका भावी कार्यक्रम अगाडि सारेको छ। जसमा इकोवातावरण विकासका लागि सीपीसीको केन्द्रीय कमिटी इकोलोजिकल संरक्षण र उल्लेख्य प्रगति गर्दै सुन्दर चीन निर्माण गर्न प्रतिबद्ध छ। चीनमा ऐतिहासिक परिवर्तन हुँदै गरेको र वातावरण संरक्षणले थुप्रै परिवर्तन देखाउँदै गरेको औँल्याइएको छ।

एक राष्ट्र दुई प्रणालीका बारेमा चीन अडिग रहने भन्दै हङकङ र मकाउको विकासले यो कुराको पुष्टि गरेको बैठकले औँल्याएको छ। ताइवानका सम्बन्धम बैठकले कुनै नयाँ कुरा अगाडि सारेको नदेखिए पनि सन् १९९२ को सहमतिलाई चीनले निरन्तर पालना गर्ने दोहोर्‍याएको छ। प्रतिवेदनमा भनिएको छ ‘हामी सधैँ पृथकतावादीका विरुद्धमा छौँ जसले कथित स्वतन्त्र ताइवान खोजिरहेका छन्। हामी ताइवानलाई लिएर हुने विदेशी हस्तक्षेपको सशक्त प्रतिकारमा छौँ। हामी जलडमरुका दुई किनाराको सम्बन्धलाई स्तिर बनाउन पहल गर्छौँ।’

सम्पूर्ण पार्टीका सदस्यहरू जनताप्रति उत्तरदायी हुनुपर्ने र सधैँ जनतासँग घनिष्ट हुनुपर्ने निर्देशन पनि दिएको छ।

बैठकले सीपीसीको २० औँ महाधिवेशन आगामी वर्ष सन् २०२२ को दोस्रो मध्यमा बेइजिङमा आयोजना हुने पनि किटान गरेको छ। सन २०२२ को दोस्रो मध्य भनेको सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हो। सामान्यतः सीपीसीको महाधिवेशन अक्टोबर महिनामा आयोजना हुने गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय