वीरगंज २६ कात्तिक, । रौतहटको गौरमा ठूलो परिमाणमा लागुऔषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका ४ मा रहेको सिवाङ्गी पेट्रोल पम्प अगाडि रोकि राखेको ट्रकबाट प्रहरीले १ सय ८६ किलो गाँजा बरामद गरेको हो । ना ६ ख ५९४३ नम्बरको मिनी ट्रकबाट १२ पोकामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमरियाले बताए । ट्रकको चेसिस भित्र गाँजा लुकाएर ल्याएको अवश्थामा प्रहरीले सुराकीको आधारमा सो लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित मकवानपुर थाहा नगरपालिकाका सुरेन्द्र गोले र ऋतम तामाङ्गलाई नियन्त्रणमा लिएको डिएसपी चिमरियाले बताए । बरामद भएको सो गाँजा उनीहरुले भारततर्फ लग्न खोजेको अवश्थामा प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो ।