काठमाडौं । अष्ट्रेलियाले पाकिस्तानमाथि ५ विकेटको जित निकाल्दै टी ट्वान्टी विश्वकपको फाइनल यात्रा तय गरेको छ। अन्तिम समयमा म्याथु वाडेले विष्फोटक ब्याटिङ गरेपछि अष्ट्रेलियाले रोमाञ्चक जित निकालेको हो।
मार्कस स्टोनिसको नटआउट लगातारको छक्का प्रहारले पनि अष्ट्रेलियालाई जित दिलायो। यस क्रममा उनले ३१ बलमा ४० रन जोडे।
तेस्रो बलमै कप्तान आरोन फिन्चलाई शून्यमै गुमाएको अष्ट्रेलिया शुरुमै धर्माएको थियो। तर डेविड वार्नरले सर्वाधिक ४९ रन बनाएपछि अष्ट्रेलियाको इनिङ उकासिएको थियो। अर्धशतकबाट १ रनले चुकेका उनले ३० बलमा ३ छक्कासँगै ३ चौका प्रहार गरे।
त्यस्तै मिचल मार्स २२ बलमा २८ रन तथा स्टिभ स्मिथ ६ बलमा ५ रन बनाएर आउट भए। ग्लेन म्याक्सवेलले मात्र १० बलमा ७ रन जोडे। पाकिस्तानका सहदाब खानले ४ विकेट लिए पनि जित दिलाउन सकेनन्।
दुबई इनन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले ३ विकेटको क्षतिमा पूरै ओभर खेल्दै १ सय ७६ रन बनाएको थियो।
उसका लागि मोहम्मद रिजवानले ५२ बलमा ६७ रनको योगदान दिए भने ३२ बलमा ५५ रन बनाए।
कप्तान बाबर आजमले ३४ बलमा ३९ रन बनाए। शोएब मल्लिक तथा मोहम्मद हफिजले १/१ तथा असिफ अलि शून्यमै आउट भए। अष्ट्रेलियाका मिचेल स्टार्कले २ विकेट लिए।
अब अष्ट्रेलियाले उपाधिका लागि आइतबार न्यूजिल्याण्डको सामना गर्नेछ। न्यूजिल्याण्डले हिजो इंग्ल्याण्डलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ।
सुपर १२ का खेलमा उत्कृष्ट प्रदर्शन गरेको पाकिस्तानले यसअघि पराजय भोगेको थिएन। अष्ट्रेलियाले भने इंग्याल्याण्डसँग एक खेल गुमाएको थियो।