जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाइदिन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेकाले उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।
उद्योग क्षेत्रमा राष्ट्रव्यापी रूपमा समस्या देखापरेका र ती समस्या समाधान गर्न वर्तमान सरकार तत्पर रहेको पनि गृहमन्त्री खाँडले बताए। माल, समान ल्याउने क्रममा व्यापारीहरूलाई अनावश्यक दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरूलाई उनले आग्रह गरे।
मन्त्री खाँणले भाषा, संस्कृति विकासका लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि बताए। भने, “वर्तमान सरकार सबै समुदायलाई सम्मान गर्दछ। र उद्योगी, व्यवसायीको स्वतन्त्र उद्योग, व्यवसाय सञ्चालनका लागि जुन माग गर्नुभएको छ, त्यसमा सरकार सकारात्मक छ।
उनले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरूसँग सम्वाद र छलफलगरी राजनीतिक मुलधारमा ल्याउने काम भइरहेको पनि जानकारी दिए। गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।