काठमाडौं। सत्तारोहण गरेको साँढे तीन महिनामा शेरबहादुर देउवाले पूर्ववर्ती सरकारले नियुक्ति गरेका प्रदेश प्रमुख हटाएर नयाँ पदस्थापन गरेका छन्। यसअघि प्रधानमन्त्री भएको १५ दिनमै  देउवाले पूर्ववर्ती सरकारले नियुक्ति गरेका प्रदेश प्रमुख हटाएर नयाँ पदस्थापन गरेका थिए।

फेरि अहिले सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

बालुवाटार स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ।  प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए।
यसअघि देउवा सरकार आएपछि गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई फालेर अमिक शेरचन र पृथ्वीमानसिंह गुरुङलाई नियुक्ति गरिएको थियो। यस्तै प्रदेश २ का राजेश झालाई पनि हटाएको थियो।

योसँगै चार बर्ष नपुग्दै प्रदेश प्रमुख पाँच पटकसम्म फेरिएका छन्। ७ वटा प्रदेश रहेको नेपालमा यस बीचमा २१ जना प्रदेश प्रमुख बनिसकेकाछन्। संविधानअनुसार प्रदेश प्रमुखको पदावधि राष्ट्रपतिले पदमुक्त गरेबाहेक ५ वर्ष हुने उल्लेख छ। तर, सरकारले प्रदेश प्रमुखको निर्धारित कार्यकालभन्दा अगावै पाँच पटकसम्म फेरबदल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय