काठमाडौं। कुनै समय थियो, टेकु अस्पताल भन्नासाथ मानिसहरू कुकुरले टोकिहाले रेबिजको खोप लगाउने अस्पतालको रूपमा बुझ्थे। त्यसो त यो अस्पताल हैजाको महामारीसँग जुध्न स्थापना गरिएको थियो। काठमाडौं उपत्यकामा सन् १८२३ देखि हैजाको महामारी फैलिन थालेको इतिहास छ। त्यसैले १९९० सालमा ‘कोलेरा हस्पिटल’ भनेर बेग्लै अस्पताल स्थापना गरियो।

यही कोलेरा हस्पिटल सरुवा रोग अस्पताल, टेकु अस्पताल हुँदै २०५३ साल माघमा ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल’ हुनपुगेको थियो।

कोभिड महामारीपछि भने यो अस्पतालले जनमानसमा बेग्लै छवि बनाएको छ।

माघ २०७६ मा एक जना महिलालाई कोभिड संक्रमण भएको पुष्टि भएपछि उनको उपचार गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयले यही अस्पताललाई दियो।

यो छनौट यत्तिकै गरिएको थिएन। यसअघि सन् २००९ मा स्वाइन फ्लुका बिरामीलाई पनि त्यही अस्पतालमा उपचार गरिएको थियो। त्यस्तै विभिन्न देशमा इबोलाको संक्रमण फैलिँदा नेपालमा पनि आउनसक्ने सम्भावना देखेर यही अस्पताललाई तयार अवस्थामा राखिएको थियो।

बिस्तारै नेपालमा पनि कोभिड संक्रमितको संख्या बढ्दै गयो। टेकु अस्पतालमा बिरामीको चाप बढ्न थाल्यो। देशमा लकडाउन भयो। संक्रमितको संख्या थपिँदै गयो। पहिलो लहरमा टेकु अस्पतालले ९२१ जनाको उपचार गर्‍यो। त्यतिन्जेल सातै प्रदेशका केही अस्पताललाई सरकारले कोभिड संक्रमितहरूको उपचार केन्द्र तोक्यो। तर टेकु अस्पताल सबैको आशाको केन्द्र बनिरह्यो।

त्यसको मुख्य कारण हो उसले आफूकहाँ आएका संक्रमित फर्काएन। गत वैशाख र जेठमा कोभिडको दोस्रो लहर नेपालमा फैलियो। देशैभरका अस्पतालमा संक्रमितको चाप बढ्दै गयो। कतिपय अस्पतालले संक्रमितलाई गेटबाटै फर्काए। कति अत्यन्तै महंगा भए। तर टेकु अस्पतलाले परिसरमै राखेर भए पनि आफूकहाँ आएका बिरामीको उपचार गर्‍यो।

त्यतिबेला बिरामीले पाएको दुःख र अक्सिजन अभावले छटपटाएको दृश्यले आँसु नै बहाइदिएको सम्झिन्छन् अस्पतालका तत्कालीन निर्देशक डा. सागरराज भण्डारी। अस्पतालका वर्तमान निर्देशक डा. अनुप बास्तोलाको समूहले दुई दिनसम्म लगातार उपचार गरेको योगदान स्मरणीय थियो।

अस्पतालले केवल बिरामीलाई संक्रमणमुक्त मात्र पारेन। देशैभरका अन्य चिकित्सक र अस्पताललाई पनि कोभिड उपचारको आफ्नो अनुभव प्रसारण गर्‍यो।

अस्पतालले कोभिडको पहिलो र दोस्रो लहरमा दुई हजार १२ जना संक्रमितहरूको उपचार गर्‍यो। ती मध्ये २४६ जनाको निधन भयो भने अन्य संक्रमणमुक्त भएर फर्किए।

कोभिडकालमा फेरिएको मुहार

कोभिड महामारी उच्च विन्दुमा पुगेको बेला टेकु अस्पताल केवल आशाको केन्द्र भएन। यो आफै पनि रुपान्तरण भयो। कोभिड महामारीको पहिलो लहर शुरु हुँदै गर्दा अस्पताल तयार अवस्थामा थिएन।

“अस्पतालनमा न त बिजुली बत्ती नै गतिलो थियो न त उपचारमा चाहिने अन्य स्वास्थ्य सामग्री नै थिए”, अस्पतालका पूर्व निर्देशक डा. राजभण्डारी भन्छन्, “अस्पताललाई कोभिड संक्रमितहरूको उपचार गर्ने लायक बनाउनु आफैमा चुनौतीपूर्ण थियो।”

डा. राजभण्डारीका अनुसार पहिला अत्यन्त साँघुरो हुनेगरी ११० वटा बेड थिए। तीमध्ये अधिकांश पुराना थिए। ती बेड हटाएर ७० वटा राखियो। कोभिडको दोस्रो लहर शुरु भएपछि बिरामीको संख्या बढ्यो। कोठामा मात्रै नअट्ने भएपछि कोरिडोर र अस्पताल परिसरमा राखेर भए पनि ४० वटा बेड थपियो। माथिल्लो तलालाई पनि कोभिड वार्डको रूपमा प्रयोग गरियो।

त्यतिमात्र होइन बिरामीहरूको सम्पर्कमा रहेको हावा फाल्ने प्रविधि (हेपाफिल्टर) पनि जडान गरिएको उनले बताए। धेरै बिरामी एकैपटक आउँदा सिलिन्डर अभाव हुन थालेपछि लिक्विड अक्सिजन प्लान्ट पनि जोडियो।

कोभिडको महामारीका कारण भएको अर्को सुधार हो, भेन्टिलेटरको संख्यामा वृद्धि। कोभिड महामारी आउनुअघि टेकु अस्पतालमा दुईवटा भेन्टिलेटर थियो। “पहिलो लहरमा पाँच वटा र दोस्रो लहरमा २० वटा गरी अहिले २७ वटा भेन्टिलेटर भएको निर्देशक डा. बास्तोलाले बताए।

त्यस्तै अस्पतालमा पहिले चारवटा आइसीयु बेड भएकोमा अहिले २८ वटा बेड बनाइएको छ।

“पहिलो लहरमा बाइपेप मेसिनहरू बढि मात्रामा आए भने दोस्रो लहरमा भेन्टिलेटर बढि आयो”, डा. बास्तोलाले भने, “थन्कीएको पीसीआर मेसिनलाई पनि बनाएर सञ्चालनमा पनि ल्याइयो।”

कोभिडपछि टेकु अस्पतालमा जनशक्ति पनि थपिएको छ। पहिले १७२ जनाजति स्वास्थ्यकर्मी थिए भने कोभिड महामारीमा करारमा भए पनि ३३४ जना पुर्‍याइयो।

“अहिले संक्रमितको संख्या त्यति नभएकाले करारमा तोकिएकाहरूको समय अवधि सकिएकाले तीन सय जति स्वाथ्यकर्मी अहिले कार्यरत छन्”, डा. बास्तोलाले भने।

सेवा विस्तार गर्दै अस्पताल

टेकु अस्पतालले अहिले पनि आफूलाई धेरै विकास गर्न बाँकी रहेको बताउँछन् निर्देशक डा. बास्तोला। अस्पतालकाे क्षमता विस्तार गर्ने क्रममै रहेको बताउँछन् उनी। पुराना भवन भत्काएर तीन सय बेडको नयाँ सरुवा रोग अस्पताल बनाउने योजनामा रहेको उनले सुनाए।

भन्छन्, “पहिलेबाट नै अस्पतालको संरचना राम्रो छैन भन्दै आइरहेको थिएँ। यो महामारीमा त्यो देखियो। अस्पतालको संरचना अलि फराकिलो र ठूलो भएको भए संक्रमितहरू प्रागंणमा बस्नुपर्दैन थियो होला। सरकारले यस अस्पतालालई तीन सय शय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको छ यो प्रशंसनिय नै छ।”

उनी भन्छन्, “अहिले तीनवटा योजना अगाडि बढाएको छु- अस्पताललाई विस्तार गर्ने, इन्सिच्युट खोल्ने र सेवालाई चुस्ततुरुस्त बनाउने हो। अस्पताल आएका बिरामीले यताउता हेर्दा सबैतिर हरियाली पाउन सकुन्। कोही पनि अस्पतालमा आइसकेपछि सेवामा सम्झौता गर्न नपरोस् भनेर लागिपरेको छु।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय