सीजी इलेक्ट्रोनिक्सका उपमहाप्रवन्धक (डीजीएम) विष्णु प्रसाद ज्ञवालीसँग सीजीका इलेक्ट्रोनिक्स उत्पादनको बजार, बिक्री, चाडपर्वलक्षित स्किम योजना, आगामी तयारी लगायतका विविध विषयमा नेपालभ्यूजले गरेको कुराकानीको सारः

बजारमा अहिले सीजीका कस्ता–कस्ता उत्पादन छन् ?

विशेषतः  घरेलु प्रयोजनका विद्युतीय सामग्री हामीसँग छन्। सानोमा राइस कुकर, मिक्सर, टोस्टर, इन्डक्सन चुल्हो, वाटर डिस्पेन्सरदेखि ठूलोमा टीभी, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसन, माइक्रोओभन, भ्याकुम क्लिनर, मल्टिमिडिया स्पिकर लगायतका उत्पादन हामीसँग छन्। हामीसँग करीब ३० प्रोडक्टका एक सयभन्दा बढी लाइनअप छन्।

बजारमा विद्युतीय सामग्रीको प्रतिस्पर्धा बढ्दो छ। सीजीले बजार हस्तक्षेपका लागि कुन रणनीतिमा काम गरिरहेको छ ?

बजारको प्रतिस्पर्धा हेर्दा, सीजी दोहोरो प्रतिस्पर्धामा छ। एक त हामी बहुराष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धामा छौँ। बजारमा सीजी स्थापित ब्राण्ड हो। हामी विश्वभरी छौँ। त्यो बहुराष्ट्रिय ब्राण्डको पहिचान देखाउनुपर्ने दबाब हामीलाई छ। अर्को दबाब के छ भने गुणस्तर र सेवाभन्दा मूल्य कमका नक्कली ब्राण्ड बजारमा छन्। ती सामान सस्ता छन्, तर गुणस्तर तथा विशेषता केही पनि छैनन्। तथापि, सेवाग्राहीमाझ ती सामान पनि पुगेका छन्।

स्थापित ब्राण्ड भए तापनि त्यस्ता सामानका कारण गुणस्तर र विशेषता भएका सामान किन्दा पनि ग्राहकले शंका गर्ने अवस्था सिर्जना भएको छ। सामान गुणस्तरीय नै लिनुपर्छ भनेर आम ग्राहक सचेत हुनेगरी मार्केटिङको आवश्यकता पनि छ। यसरी नन–ब्राण्डेड सस्तो मूल्यका सामानसँग पनि हामी प्रतिस्पर्धामा छौँ। यस्ता सामानसँग हाम्रो प्रतिस्पर्धा मूल्यमा मात्रै हो। ती सामान हेरेर महँगो भयो भन्ने गुनासो आउने गरेको छ ग्राहकको।

हाम्रो खास प्रतिस्पर्धा गुणस्तर र विशेषतामा बहुराष्ट्रिय कम्पनीसँग नै हो। अन्य बहुराष्ट्रिय कम्पनीसँगको प्रतिस्पर्धामा हामी गुणस्तरमा कम छैनौँ, मूल्यमा पनि सस्तो छौँ। हाम्रो रणनीति नेपाली ग्राहकलाई बहुराष्ट्रिय ब्राण्डकै गुणस्तर र विशेषता अनुसारको सामान नेपाली ग्राहकको खर्च गर्ने क्षमताका आधारमा अन्य कम्पनीभन्दा कम मूल्यमा बेच्नु नै हो। हामी शुरुआती दिनदेखि यो कुरामा अडिग छौँ।

विश्वव्यापी कोभिड महामारीले स्थापित ब्राण्डको व्यापार पनि धरासयी भइरहँदा सीजीमा कस्तो पभाव पर्‍यो ?

कोभिडका कारण सबै व्यवसाय प्रभावित भयो। अहिले हामी पोस्ट कोभिडको अवस्थामा छौँ। चाडबाडको सिजन छ। अहिले चाहिँ हाम्रो बिक्री राम्रो छ। विभिन्न स्किम, क्यासब्याक, छूट तथा उपहारको योजना हामीले ल्याएका छौँ। जसकारण पनि बजारमा चार्म देखिएको छ। त्यसमा विशेषगरी चिसोका सामान तथा टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन लगायतको बिक्री धेरै राम्रो छ भने गर्मी घट्दै गएकाले अहिले कुलर लगायतका सामानको बिक्री केही घटेको छ। हाम्रो सँधैं राम्रो बिक्री हुने सामान स्पीकर हो। तर कोभिडपछि भोजभतेर, पार्टी, गोष्ठी, सभा समारोह नभएर होला यसको बिक्री खासै भएन, तर अहिले चाडपर्वको सिजन भएर केही बिक्री भएको छ। समग्रमा बिक्री बढेको छ।

चाडपर्वमा सीजीले के कस्ता स्किम र अफर ल्याएको छ ?

सीजीको जुनसुकै सामग्री किन्दा पनि उपभोक्ताहरु ‘लक्की ड्र’मा सहभागी हुनसक्नुहुन्छ। ‘लक्की ड्र’मा सहभागी हुन एसएच टाइप गरेर मोडल नम्बर, नाम र ठेगाना लेखेर २९००१ मा एसएमएस गर्न सकिन्छ। ‘लक्की ड्र’योजनामा १५/१५ दिनमा फेसबुक लाइभमार्फत् विजेता घोषणा गर्छौँ। यस योजनामा विजेतालाई डबल डोर फ्रिज उपहार दिइरहेका छौँ। यस्तै यस योजनामा बम्परमा तीन जोडीलाई चितवनको मेगौली सेराइ ताज होटलमा ३ दिन २ रातको प्याकेज राखेका छौँ। हरेक १५ दिनमा ‘लक्की ड्र’मार्फत फ्रिज उपहार दिइरहेकोमा यो स्किम सकिएपछि बम्पर खोल्छौँ। यो स्किम कम्तीमा छठसम्म त रहन्छ, अहिले नै अन्तिम मिति कहिलेसम्म भन्ने पक्का गरिसकेका छैनौँ। यस्तै भाग्यशाली ग्राहकलाई ५५ हजारसम्मको क्यासब्याक योजना पनि सञ्चालन गरिरहेका छौँ। छूट योजनाअन्तर्गत कम्तीमा १६ देखि ३५ प्रतिशतसम्म सामान खरीद गर्दा छूट दिइरहेका छौँ।

चाडपर्वमा नयाँ सामान भित्र्याउने चलन पनि बढ्दो छ। सीजीले पर्व लक्षित केही नयाँ प्रोडक्ट पनि थपेको छ ?

बजारमा यस मिडियामार्फत पहिलोपटक सार्वजनिक गर्दैछु, हामी केही नयाँ प्रोडक्ट ल्याउँदैछौँ। सीजीमा दुईटा प्रोडक्ट आउँदैछ। थप प्रिमियम प्रोडक्ट ल्याउँदैछौँ, अर्थात् अन्य कम्पनीसँग जोडिएर संयुक्त रुपमा नयाँ प्रोडक्ट ल्याउँदैछौँ। अहिलेको हाम्रो सामानमा सीजीको लोगो आइरहेको छ, त्यसमा भने सीजीसहित अर्को कुनै ब्राण्डको पनि लोगो आउनेछ। त्यो ब्राण्ड हामी सार्वजनिक गर्दैछौँ। एलईडी टीभी, रेफ्रिजेनेरेटेर, वासिङ मेसिन, एयर कन्डिसन र डिफ्रिज यी पाँचओटा प्रोडक्टबाट हामी प्रिमियम प्रोडक्ट शुरु गर्दैछौँ। हाम्रो अहिलेको लक्षित ग्राहक भनेको मध्यम वर्ग हो, अब प्रिमियम ग्राहकमाझ पनि जाऊँ भनेर यो प्रोडक्ट ल्याउन लागेका हौँ।

सीजी इलेक्ट्रोनिक्सले बिक्रीपछिको सेवालाई कत्तिको प्राथमिकतामा राखेको छ ?

ग्राहकहरुले दिइरहेको फिडब्याकबाटै पनि सीजीले बिक्रीपछिको सेवालाई कत्तिको प्राथमिकतामा राखेको छ भन्ने थाहा हुन्छ। हाम्रो केन्द्रीय सर्भिस सेन्टर काठमाडौँमा छ। त्यहाँ भएको टोल फ्रि नम्बरमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ग्राहकले फोन गरेर आफ्नो समस्या भनेपछि हामी सम्बन्धित सर्भिस सेन्टरमार्फत त्यो समस्या समाधान गर्छौँ। घरछेउमै सर्भिस सेन्टर छ भने पनि ग्राहक त्यहाँ जानै पर्दैन, केन्द्रीय सर्भिस सेन्टरमा फोन गरेमा हामी हाम्रा कर्मचारीलाई घरैमा पठाएर सेवा दिन्छौँ। हामीसँग देशभर १४० ओटा सर्भिस सेन्टर छन्, ती सबै सर्भिस सेन्टर काठमाडौँबाट सञ्चालन गर्छौँ। हामीसँग थप फ्रेन्चाइजहरु पनि छन्। गुनासो टिपाएको २ घण्टाभित्र हामी सम्बोधन गछौँ। २ घण्टाभित्र ग्राहककोमा हाम्रोबाट फोन जान्छ, एकदिन भित्र घरमा हाम्रो कर्मचारी पुग्नुहुन्छ। यो दुर्गमबाहेक बजार क्षेत्रमा एक दिनभित्र भिजिट हुनैपर्ने नीति हामीले लिएका छौँ।

देशभर कति पुगे सीजीका ग्राहक ?

हाम्रो लक्ष्य नै हो, नेपालको प्रत्येक घरमा सीजीको एक प्रोडक्ट होस्। त्यसमा हामी लगभग सफल भएका छौँ। अघिल्लो वर्षसम्मको तथ्यांक अनुसार हामी ५५ लाख ग्राहकसम्म पुगेका छौँ। यस वर्षको तथ्यांक आइसकेको छैन। ३ करोड नेपालीको घरमा हाम्रो प्रोडक्ट पुर्‍याउने हाम्रो योजना छ।

कम्पनीको आगामी योजना के छ ?

आफूलाई समय अनुसार अपडेट गर्ने विषयमा हामी सचेत छौँ, गर्दै आएका छौँ। आगामी दिनमा पनि समय अनुसार अपडेट गर्दै जानु हाम्रो प्राथमिकता हो। प्रोडक्टमा गुणस्तर र विशेषता थप गर्दै गएका छौँ। कुनै पनि बहुराष्ट्रिय कम्पनीको गुणस्तरभन्दा हाम्रो गुणस्तर कम छैन। विशेषताका हिसाबले पनि सीजीको कुनै पनि उत्पादन कुनै कम्पनीको विशेषताभन्दा कम छैन। सेवा राम्रो भएकैले ग्राहकहरुले हामीले यतिका वर्षदेखि माया गरिराख्नुभएको छ। बिक्रीपछिको सेवा पनि हाम्रो राम्रो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय