काठमाडौं। सोमबार साँझ प्रधानमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पोडेलको नेतृत्वमा उच्चस्तरीय राजनितीक सन्यत्र गठन गरेका छ।
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो सयन्त्रको गठनका लागि नै लबी गर्दै आएका थिए। कोभिड संक्रमण बढेको बेला तत्कालीन नेकपा सरकारका बेला पनि उनले प्रधानमन्त्री केपी ओलीसमक्ष यसबारे कुरा उठाएका थिए।
तर ओलीले त्यसलाई अस्वीकार गरेका थिए। ओलीलाई विस्थापित गर्दै अहिलेको पाँचदलीय गठबन्धनको सरकार बनेको छ। जहाँ कांग्रेसले सरकारको नेतृत्व गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै पुनः प्रचण्डले यो कुरा उठाएका थिए। तर त्यो सम्भव देखिएन। बरु प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सत्ता गठबन्धनस्तरीय कार्यदल बनाएर प्रचण्डको त्यो मागलाई थामथुम पारेका थिए।
तर सोमबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले अचानक पौडेल नेतृत्वमा ११ सदस्यीय संयन्त्र बनायो। जसमा काग्रेसबाटै अर्का नेता कृष्णप्रसद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा (एस) बाट माधव नेपाल, जसपाबाट उपेन्द्र यादव र राष्टिय जनमोर्चावाट चित्रबहादुर केसी र दुर्गा पौडेल र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की छन्। नेकपा (एस) र जसपाले अझै एक एक जना संयन्त्रमा थप्ने बताएको छ।
प्रचण्डले अघि सारेको राजनीतिक संयन्त्र आखिर किन प्रधानमन्त्री देउवा गठन गर्न तयार भए ? र त्यहाँ पनि पौडेललाई किन रोजियो ?
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार देउवाको यो कदम जलवायु सम्मेलनवाट प्रधानमन्त्री त्रिभुवन विमानस्थलमा उनले दिएको अभिव्यक्तिपछिको विकसित वातावरणको प्रभाव हो।
प्रधानमन्त्री देउवाले विमानस्थलमा एससीसीबारे दिएको अभिव्यक्तिपछि सत्तागठबन्धनका घटक माओवादी केन्द्रका अध्यक्ष र नेकपा एसका अध्यक्ष माधव नेपाल झस्किएका थिए। पछि गत शनिबार प्रचण्डले देउवासँग भेटर गठबन्धन सरकार गठबन्धनअनुसार नचलेको भन्दै असन्तुष्टि मात्रै जनाएनन्। अगामी निर्वाचनसम्मको यात्राबारे सँगै जाने गरी स्वेतपत्र नै सार्वजनिक गर्न माग गरे।
शनिवार देउवासँग भेटेका प्रचण्डले सोमबार बिहानै पुनः माधव नेपाललाई लिएर बालुवाटार पुगेका थिए। सोमबार बिहान बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच करिब दुई घण्टा लामो भएको अनौपचारिक छलफलले यो कुरा टुंग्याएको हो।
जसको औपचारिकताका लागि सोमबार गठबन्धनको बैठक बोलाइएको थियो। यद्यपि यो बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भटराई दुवै सहभागी हुन पाएनन्।
यादव र भटराई दुवै सोमबार पार्टी कार्यक्रममा सहभागी हुन काठमाडौंबाहिर गएका थिए। सोमबारको गठबन्धन बैठकले राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनमा संयुक्त भएर जाने पनि निर्णय गरेको छ।
कांग्रेसभित्र आउँदो निर्वाचनमा एक्लै भाग लिने बलियो मत रहेको र प्रधानमन्त्री देउवाले पार्टी सन्तुलन मिलाउन गठबन्धन थामथुम पार्न लागेका जानकारहरू बताउँछन्।
देउवानिकट स्रोतका अनुसार यो संयन्त्रबाट प्रधानमन्त्री देउवाले पार्टीभित्र एक्लै निर्वाचनमा भाग लिने बलियो मतलाई काउन्टर दिनुका साथै गठबन्धनभित्र एकमत रहेको सन्देश दिन खोजेको देखिएको छ।
ओलीका पालामा असफल, देउवाका पालका सफल प्रचण्ड
नेपालमा कोभिड १९ संक्रमण बढेसँगै जोखिम न्यूनीकरणका लागि तत्कालीन केपी ओली सरकारले लकडाउन गर्ने निर्णय गरेसँगै तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले यस्तो संयन्त्र बनाउन आग्रह गरेका थिए।
एक टेलिभिजन कार्यक्रमलाई दिइएको अन्तर्वार्तामा दाहालले तत्कालीन प्रधानमन्त्री ओलीसँग कोभिडसँग जुध्न राजनीतिक दलहरूको संयन्त्र निर्माणका लागि जोडबल गरेका थिए।
दाहालको आग्रहलाई ओलीले एक पत्रिकालाई दिइएको अन्तर्वार्ताबाट नै खारेज गरिदिएका थिए। ओली सरकारको पालामा राजनीतिक संयन्त्र निर्माण गर्ने दाहालको प्रयास भने देउवाको पालामा आएर सफल भएको छ।
सत्तारुढ दलका नेतासमेत रहेका दाहाल देउवा सरकारले निर्माण गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्य छन्। सत्ता गठबन्धन पाँच दलबीच दुई दुई महीना नेतृत्व गर्ने सहमतिसहित गठन भएको संयन्त्रको पहिलो चरणमा कांग्रेसका वरिष्ठ नेता पौडेलले नेतृत्व गर्दैछन्।
दाहालले ओली सरकारमा निर्माण गर्न आग्रह गरेको राजनीतिक संयन्त्र देउवा सरकारका पालामा निर्माण भए पनि संयन्त्र निर्माणमा देउवाको स्वार्थ बढी हाबी भएको देखिन्छ।
केही दिनअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमार्फत संयन्त्र निर्माणको आग्रह गरे पनि देउवाले कांग्रेसबाट संयन्त्रमा सहभागी गराएका व्यक्ति हेर्दा यो देउवाको योजनाअनुरुप बनेको देखिन्छ।
१४ औं महाधिवेशनको संघारमा रहेको कांग्रेसमा सभापति पदका लागि देउवाका प्रमुख प्रतिस्पर्धी हुने आकलन गरिएका पौडेल र कृष्णप्रसाद सिटौला दुवै संयन्त्रमा कांग्रेसका तर्फबाट सहभागी छन्।
कांग्रेसको १३ औँ महाधिवेशनमा पनि यीनै तीनबीच सभापति पदका लागि प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा तुलनात्मक रूपमा कम मत ल्याएका सिटौलाले दोस्रो चरणमा देउवा र पौडेलबीच सभापति पदका लागि भएको प्रतिस्पर्धामा देउवालाई समर्थन गर्दा पौडेल सभापति पदमा पराजित भएका थिए।
आउँदो महाधिवेशनमा देउवा सभापति पदमा लड्न निश्चितजस्तै हुँदा पौडेल र सिटौलाको भने यकिन भइसकेको छैन। पौडेल गुटबाट यो पटक सभापति पदका लागि आकांक्षी धेरै हुँदा पौडेल स्वयं सभापति पदका लागि उमेदवार हुन्छन् हुँदैनन् अहिले नै भन्न सकिने अवस्था छैन।
सिटौलाले सभापति पदको उमेदवारी दिने बताएका छन्। यद्यपि, महाधिवेशनको दिनसम्म उनको अडान के हुन्छ कांग्रेस वृत्तमै अन्योल छ।
पौडेल र सिटौलाको सभापति पदमा उमेदवार हुने आकांक्षा के हुन्छ अहिले नै निश्चित नभए पनि अघिल्लो माहाधिवेशनमा यी दुवै देउवाका प्रतिस्पर्धी थिए।
त्यसैले पनि देउवाले आफ्ना दुवै प्रतिस्पर्धीलाई राजनीतिक संयन्त्रको जिम्मेवारी दिएर के सन्देश दिन लागे भन्ने कांग्रेसभित्रै चर्चाको विषय बनेको छ।