जनकपुरधाम। मधेसवासी हिन्दू धर्मावलम्बीहरूको पर्व छठ नजिकिँदै जाँदा धनुषा, महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाउन व्‍यस्त छन्। यिनै सामग्री बेचेर उनीहरू आर्थिक आम्दानी गर्न सफल भएका छन्।

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सातओटा बाँसका भाँडाकुँडा किन्नुपर्छ।

धुनषा, महोत्तरीको करिब १५ लाख जनसंख्या रहेकामा ७५ प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदाय प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको धनुषा क्षीरेश्वरनाथ नगरपालिका-६ सखुवाबजार नयाँटोलका झल्कु मल्लिकले बताए।

छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतको चोयाबाट तयार गरिएका डालो, नाङ्लो, टपरी लगायतका नयाँ भाँडाकुँडाले पर्व मनाउनुपर्ने भएकाले आफूहरूले छठ पर्वका बेला यस्ता भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्न सफल हुने गरेको उपमहानगरपालिका-१ स्थित धर्मवान टोलका श्याम मल्लिक डोमको भनाइ छ।

गाँस, बास र कपासकै जोरजामका लागि सधैँ हम्मेहम्मे हुने डोम समुदायमा छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेको जनकपुरधाम उपमहानगरपालिका-१ स्थित धर्मवान टोल कै रीता मल्लिक डोमिनले बताइन्।

त्यस्तै महोत्तरीको औरही नगरपालिका-१ का ईन्दल मल्लिक डोमले कात्तिक लाग्नासाथ घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा तल्लिन हुने र बजारमा बेच्दा राम्रो आम्दानी हुने भएकाले आफूहरू निकै खुशी भएको बताए।

त्यसैगरी महोत्तरीको भंगहा नगरपालिकाका सुखारी डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु. दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए।

अहिले जिल्लाको गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त देखिन्छन्।
हरेक वर्ष छठ पर्व मनाउनेको संख्या बढ्दै जाँदा बाँसका भाँडाकुँडा पुर्‍याउन डोम जातिलाई सकस भएको छ।

डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य ब्यस्त देखिन्छन्। घरमूलीदेखि पाँच, सात वर्षको उमेर कटेका बालबालिका पनि काममा व्यस्त भएको देखिन्छ।

औरही-१ का जितेन्द्र मल्लिक डोमले भने, “कात्तिक लाग्ने बितिक्कै घरका बच्चा देखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्गो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ, बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निकै खुशी हुन्छौँ तर वर्षभरि काम नचल्नाले भने फेरि केही दिनपछि दुःख थपिन्छ।”

छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वास सम्सी गाउँपालिकाका ६० वर्षीय बुधवा डोमले व्यक्त गरे। आफूहरूले सोही कारण दिनरात बर्तालुका निम्ति बाँसका भाँडा बनाउने गरेको उनले सुनाए।

महोत्तरीको जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरि कै सबै कर्जा ऋण चुक्ता गर्न सकिने र केहि महिनासम्मको खर्चबर्चको जोहो गर्ने जति कमाइ हुने गरेको बताए।

भङ्गहा नगरपालिकाका भरोसिया डोमले घरका बालकदेखि वृद्धसम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु ५०–६० हजार र प्रत्येक परिवारले तीन/चार लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताए।

को हुन डोम?

मधेसी दलित समुदाय अन्तर्गत सबैभन्दा दमित समुदायको रूपमा डोमलाई लिइन्छ। यो समुदाय मधेसका जिल्लामा ऐलानी जग्गामा झुप्रो बनाएर बसोबास गरिरहेका छन्।यो जातिलाई दलितभित्रको दलित भन्ने गरिन्छ।

सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अपहेलित भएकै कारण उनीहरूको शैक्षिकस्तर र आर्थिकस्तर निकै दयनी रहेको छ।

डोमहरू बाँसको सामग्री बनाउने सीपका धनी मानिन्छन्। उनीहरूलाई घाटवासी भन्ने चलन छ। मरेको मान्छेलाई दाहसंस्कारको बेला डोमबाट आगो किन्नु पर्ने चलन मधेसमा छ। त्यस्तै मृत मानिसको लुगाफाटो आदि उनीहरूलाई दान गर्ने पनि गर्छन्।

डोम समुदायमा पुरूषहरू धोती, कुर्ता र पगडी लगाउँछन्र भने महिलाहरू सारी चोलो। महिलाहरू चाँदीको गहना प्रयोग गर्छन् ।

यो समुदायले हिन्दू धर्म मान्दछ भने काली भगवतिको पूजा गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय