वीरगंज -पर्सामा बैंकिङ कसुरका मुद्दामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको झण्डै साढे ३ महिनामा बैंकिङ कसुरका २ दर्जन मुद्दा दर्ता भइसकेको पर्सा पर्साका प्रहरी प्रवक्ता ओमप्रकास खनालले बताउनुभयो । प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षभर यो संख्या ७२ थियो । बैंकिङ कसुर शीर्षकमा दर्ता हुने मध्ये अधिकांश मुद्दा चेक बाउन्सकै हुने गरेको उहाले बताउनुभयो ।
कपाली कागजको मुद्दा दर्ता गर्दा फैसला हुन वर्षौं लाग्ने तर चेक बाउन्ससम्बन्धी मुद्दाको छिटो किनारा लाग्ने भएकाले चेकमार्फत लेनदेन र सँगै बाउन्सका घटना पनि बढिरहेको खानलको भनाइ छ । प्रहरीमा यस्ता उजुरी लिएर आउनेलाई सोझै अदालतमै गर्न जान परामर्श दिने गरिएको उहाले बताबाउनुभयो ।
मुद्दा दर्ता गरे देवानी मुद्दाको रुपमा प्रक्रिया अघि बढ्ने तर प्रहरीमा दर्ता भए मेलमिलाप र मुद्दा फिर्ता हुने सम्भावना बढी हुन्छ । प्रहरीमार्फत उजुरी अदालतसम्म पुगे फौजदारी अपराध कसुरमा मुद्दा दर्ता हुन्छ ।
पछिल्लो समय महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार जिल्ला न्यायाधिवक्ता कार्यालयले अदालतमा मुद्दा चलिसके पनि चेक बराबरको रकम लेनदेन गरी दुवै पक्षले मिलापत्र गर्न सक्ने व्यवस्था गरेको छ ।