जनकपुरधाम। जनकपुरधामदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने बहु प्रतीक्षित नेपाल–भारत मैत्री बस सेवा फेरि संचालनमा आउने भएको छ। २० महिनासम्म स्थगित रहेको जनकपुरधाम–पटना बससेवा कात्तिक २० गतेदेखि पुनः सञ्चालनमा आउन लागेको हो।
कोरोना महामारीका कारण गत वर्ष चैत ३ गतेदेखि बन्द गरिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा ल्याउन लागिएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।
एसी सुविधायुक्त बस सेवा प्रत्येक दिन जनकपुरधामबाट राति ८ बजे जनकपुरधामबाट पटनाका लागि छुट्ने उनले बताए।
२०७५ भदौ महिनामा जनकपुरधामबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र विहारको पटनाबाट विहारका मुख्यमन्त्री नीतिश कुमारले हरियो झन्डा देखाएर नेपाल–भारत मैत्रीपूर्ण बस सेवाको उद्घाटन गरेका थिए।